काठमाडौँ प्रहरी प्रमुखले भने- 'मबाट भनसुन र नातावादमा काम गराउन खोज्ने सजग हुनुहोला'

Advertisement

काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख तथा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले शनिवार आफुले प्रहरीभित्र चल्ने नातावाद कृपावादको प्रथालाई नसहने र अरुलाई पनि गर्न नदिने धारणा राखेका छन् ।

आज बिहान काठमाडौंको चाबहिलमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै परिसर प्रमुख पोखरेलले प्रहरी सेवामा सबै नागरिक समान भएकाले आफन्तवाद, नातावाद र भनसुनमा काम गराउन खोज्ने जोसुकैको पनि काम नगर्ने बताएका हुन्।

एसएसपी पोखरेलले भने, 'म सेवा रहुन्जेल जोगी जस्तै हुँ। कसैले पनि मलाई चिनेको छु भन्दै अनौतिक क्रियाकलाप गरेकोमा फलानोलाई छुटाउनु मुद्दा मिलाउन छ भन्दै दवाव दिन नआउनुहोस्।'

प्रहरीले श्रीमान तथा श्रीमतीको समस्या विवाद बाहेक अन्य कुनै पनि मुद्दा मौखिक रुपमा नमिलाउने र कसैले मिलाएको जानकारी भए तत्काल खवर गर्ने आग्रह समेत गरेका थिए। काठमाडौंलाई सुरक्षित बनाउन आफ्नो कार्यकालमा गुन्डागर्दी, चन्दा आतंक, ठगी लगायत अपराधहरु नियन्त्रण गर्ने कुनै पनि कसुर बाँकी नछोड्ने दावी गरेका छन्।

'म थाक्दिन, झुक्दिन र भाग्दिन। 'कसैको दवाव आयो भन्दैमा अपराधीले उन्मुक्ति पाउदैन। राम्रो काम गर्दा सहयोग गर्ने कम नै हुन्छन् तर म दवाव झेलेर काम गर्छु,' एसएसपी पोखरेलले भने। कार्यक्रममा सहभागी वक्ताहरुले प्रहरीले नागरिकलाई गर्नै पर्ने व्यवहारमा परिवर्तन गर्नेपर्ने, घुसखोरीको अन्त्य हुनु पर्ने लगायतका सुझाव दिएका थिए।

Advertisement

Advertisement

Advertisement