झण्डै पाँच लाख विद्यार्थी आजदेखि एसइइमा सामेल (फोटो फिचरसहित)

Advertisement

काठमाडौंः माध्यमिक शिक्षा परीक्षा (एसइइ) आज बिहीबारदेखि सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षामा मुलुकभरका चार लाख ८५ हजार विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले जनाएको छ ।

कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको एसइइ परीक्षा देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जनाएका छन् । एसइइ परीक्षाका लागि एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने आवश्यक कर्मचारी र सुरक्षाकर्मीको प्रवन्ध गरिएको केन्द्रले जनाएको छ ।

परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन् ।

साधारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ । जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ ।

अनुगमन टोलीलाई परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगतरूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको केन्द्रले जनाएको छ ।

 

Advertisement

Advertisement

Advertisement