गैरआवासीय नेपालीहरुको विज्ञ सम्मेलन हुने, ज्ञान, सीप, प्रविधि, पुँजीलाई उपयोग गर्ने उद्देश्य

Advertisement

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा आउँदो अक्टोवर १२ र १३ मा दुई दिने विज्ञ सम्मेलन हुने भएको छ । संघको सचिवालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली दिवसको अवसर पारेर सम्मेलन गर्न लागिएको जानकारी दिइयो ।

सम्मेलनमा नेपालको शिक्षा, स्वास्थ्य, जलविद्युत्त, पूर्वाधार तथा सहरी विकास, कृषि तथा खाद्यसुरक्षा लगायतका विभिन्न विधामा नीतिगत तथा विषयगत रुपमा छलफल गरिने सम्मेलन संयोजक डा. हेमराज शर्माले जानकारी दिए ।

विधानसभा तथा बौद्धिक सम्मेलनको तयारीका लागि अमेरिकामा आगामी जुनमा, युरोपको लग्जेम्वर्ग जुलाईमा, एसियाको थाइल्याण्ड लगायतका अन्य क्षेत्रहरुमा तयारी सम्मेलनहरु आयोजना हुने एनआरएन उपाध्यक्ष कुमार पन्तले जानकारी दिए ।

गैरआवासीय नेपालीहरुको ज्ञान, सीप, प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकास समृद्धिका लागि उपयोग गरिरहेको भन्दै आगामी दिनमा निरन्तरता दिन समेत सम्मेलन सहयोगी हुने आशा लिइएको छ ।

संघले आफ्नो पहलमा नेपालमा पूँजी एवं लगानी भित्र्याउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन खासै सफलता हासिल गर्न नसकिएको भन्दै उनीहरुको ज्ञान सीपको प्रयोगका लागि पहल गर्ने निर्णय गरिएअनुसार सम्मेलन गर्न लागिएको जनाएको छ ।

साथै, संघको संरचनामा समय–सापेक्ष सुधार गर्न, निर्वाचनलाई व्यवस्थित बनाउन तथा संघको कार्य–प्रणालीलाई अझ चुस्त बनाउन विधानमा व्यापक संशोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै आगामी १४ अक्टोवरमा संघले विधानसभा समेत आयोजना गर्ने जानकारी दिइएको छ ।

विधानसभामा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं सदस्य तथा राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि एवं संघका संरक्षक, सल्लाहाकार तथा मानार्थ सदस्यहरुले भाग लिने संघका उपाध्यक्ष कुमार पन्तले जानकारी दिए ।

यसै सन्दर्भमा गैरआवासीय नेपालीहरुको सामूहिक लगानी प्रबद्र्धन गर्नका लागि एक छुट्टै कम्पनी खडा गर्ने सम्बन्धमा समेत प्रारम्भिक अध्ययन तयार भएको एनआरएनले जनाएको छ । नेपाल सरकारसँग छलफल गरी सो अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिइने र एक कम्पनी खडा गरी लगानीको रकम जम्मा गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement