घरेलु तथा साना उद्योगको विकासका लागि एकल विन्दु सेवाः कटुवाल

Advertisement

काठमाडौंः नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले लघु तथा साना उद्योगको लागि सरकारले उदार नीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा उनले भने, ‘अरु देशको उत्पादनभन्दा हाम्रो देशका उत्पादनहरु धेरै राम्रा छन् । यसको पहिचान गर्नु आजको आवश्यकता हो ।’ उद्यमीहरुलाई अब प्रविधिमैत्री बनाउनुपर्ने भन्दै कटुवालले आगामी दिनमा महासंघले सो कुरामा समेत विशेष पहल गर्ने विश्वास दिलाए । सरकारले तत्काल एकल विन्दु सेवा लागु गर्नुपर्ने उनले बताए ।

कटुवालले शुक्रबारबाट आगामी बैशाख १८ गतेसम्मको लागि भृकुटीमण्डपमा सुरु भएको नेपाल १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवले नेपालमा उत्पादन भएका स्वदेशी वस्तुहरुको बजारीकरणको लागि काम गर्ने पनि बताए ।

उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म घरेलु वस्तुहरुको बारेमा जानकारी महोत्सवमार्फत हुने आफूहरुले विश्वास लिएको बताए । मेलामा करिब तीन लाखले अवलोकन गर्ने र दश करोड रुपियाँको व्यापार हुने आफूहरुको विश्वास रहेको कटुवालले बताए । लघु, घरेलु तथा साना उद्योगलाई बेवास्ता गरेर मुलुक अघि बढ्न नसक्ने कटुवालको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघका सल्लाहकार राजन शर्माले जिल्लास्तरमा उत्पादन भएका वस्तुहरुलाई व्यापक प्रचार प्रसार तथा बजारीकरण गर्न यो महोत्सवले विशेष योगदान पुर्याउने बताए ।

सरकारले घरेल तथा साना उद्योगलाई कानुनी सुधार गरी सहजीकरण गर्नुपर्ने उनको सुझाव छ । शर्माले साना तथा मझौला व्यवसायी तथा उद्यमीहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने बताउँदै भने, ‘घरेलु उद्योग देशको मेरुदण्ड हो, कच्चा पदार्थहरु महँगो छ, सरकारले यसको आयातमा विशेष छुटको व्यवस्था गर्नुपर्छ ।’

Advertisement

Advertisement

Advertisement