काभ्रेमा विमानस्थल बन्ने टुङ्गो १५ दिन भित्र लाग्ने

Advertisement

धुलिखेलः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने भएको छ । आन्तरिक उडानलाई व्यवस्थापन गर्न काभ्रेको नागीडाँडा वा ठूलीचौरमा अबको १५ दिनभित्र विमानस्थल निर्माणको टुङ्गो लाग्ने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुवै स्थानमा विमानस्थल निर्माणका लागि विभिन्न मितिमा प्रारम्भिक अध्ययन गरिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वैकल्पिक विमानस्थल निर्माणलाई विशेष चासो लिएपछि विमानस्थल निर्माणले सार्थकता पाउने भएको हो ।

पर्यटन मन्त्री अधिकारीले प्रस्तावित विमानस्थल क्षेत्रको आज स्थलगत अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अबको १५ दिनभित्र काभ्रेमा कुन स्थानमा विमानस्थल बन्ने भन्ने टुंगो लगाइने बताए ।

उनका अनुसार मन्त्रालयद्वारा एक विज्ञ समिति दुई दिनभित्र गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइनेछ । प्रतिवेदनको निष्कर्षअनुरुप विमानस्थल निर्माण आगामी आर्थिक वर्षको बजेट भाषणमा समेटिने मन्त्री अधिकारीको भनाइ छ ।
पर्यटनमन्त्री अधिकारीले वैकल्पिक विमानस्थल निर्माणमा प्राविधिकलगायत सबै प्रक्रिया चाँडो अघि बढाउन आफ्नो घोषित १०० दिने कार्यक्रमभित्रै विमानस्थल कहाँ र कुन मोडलमा बन्ने भन्ने निर्णय भइसक्ने उल्लेख गरे ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँको विकल्पका रुपमा काभ्रेमा विमानस्थल निर्माण अपरिहार्य भएकाले यसमा सबैको सहयोग चाहिने बताए ।

Advertisement

Advertisement

Advertisement