बीउ अनुदानको सात लाखमात्र खर्च

Advertisement

दाङः जिल्लाका किसानलाई सहुलियत अनुदान तथा व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारले उपलब्ध गराएको ३९ लाख रुपियाँमध्ये सात लाख रुपियाँ मात्र अनुदानको बीउ उपलब्ध गराउन खर्च भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माका अनुसार सो शीर्षकमा ३२ लाख रुपियाँ मौज्दात छ । नयाँ संरचनाअनुसार कृषि कार्यालय मातहतका सबै सेवाकेन्द्र स्थानीय तहमा गाभिएपछि पनि सरकारले सहुलियतमा किसानलाई बीउ उपलब्ध गराउन कृषि कार्यालयलाई उक्त रकम उपलब्ध गराएको हो ।

“किसानको मागअनुसार सम्बन्धित स्थानीय तहमा अनुदानको बीउ उपलब्ध गराउँदै आएका छौँ”, उनले भने, “स्थानीय तहमा माग भए, अझै पनि मकै र धानको उन्नत जातको बीउ उपलब्ध गराउन सकिन्छ ।

कार्यालयले सबै स्थानीय तहमा मागअनुसार, गहुँ, मसुरो, मकै र धानका उन्नत जातका बीउ उपलब्ध गराइरहेको छ । किसानलाई ५० प्रतिशत सहुलियत दरमा बीउ उपलब्ध गराउँदै आएको छ । स्थानीय बीउ उत्पादक सहकारी संस्थाले उत्पादन गरेका उन्नत जातका बीउ खरिद गरी किसानलाई सहुलियत दरमा बिक्री गरिँदै आएको छ ।

अहिले स्थानीय तहका कृषि शाखा कार्यालयमार्फत रामपुर कम्पोजिट जातको पहेँलो मकैको बीउ प्रतिकिलो ४० रुपियाँ मा किसानलाई उपलब्ध गराइँदै आएको छ । विभिन्न जातका धानका बीउ स्थानीय तहका कृषि शाखामार्फत उपलब्ध गराइने शर्माले बताए । अहिले सबै तहमार्फत बीउकोे माग संकलन भइरहेको छ ।

कार्यालयले व्यक्तिगत तथा समूहगत रुपमा फलफूल खेती गर्ने किसानलाई फलफूलका बिरुवा सहुलियत दरमा उपलब्ध गराउने जनाएको छ । आँप, लिची, केरालगायत फलफूलका बिरुवाको माग स्थानीय तहमार्फत संकलन भइरहेको छ । दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सात गाउँपालिका मातहतका कृषि विकास शाखामार्फत उपलब्ध गराइने गरी मागअनुसार बीउ उपलब्ध गराउँदै आएको कार्यालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement