घरजग्गा व्यवसायी संघका अध्यक्ष भन्छन– संविधानमा 'संवृद्धि' मैले घुसाएको हो

Advertisement

काठमाडौंः घरजग्गा व्यवसायी संघका अध्यक्ष इच्छाराज तामाङले संविधानमा संवृद्धि शब्द आफूले घुसाएको जिकिर गरेका छन् । असार १ बाट सुरु हुन लागेको घरजग्गा मेलाबारे डिल्लिबजारस्थित सिल्भरसिटी अपार्टमेन्टको १५ तला माथि आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुराको खुलासा गरेका हुन ।

संविधानको सदस्य हुँदै अहिले पनि साँसद रहेका तामाङले भने, ‘संविधानको प्रस्थावनामा ‘समाजवादउन्मुख नेपाल’ भनेर लेखिएको बेला मैले नै निकै दौडधुप गरेर नेपाल अगाडि संवृद्ध शब्द पहल गरेको हो । उनले थपे– टाइसुट लगाएर जाँदा यो सामन्त, पुँजीवादी भन्छन भनेर मैले टाइसुट फुकालेरै गए । दलका शीर्ष नेताहरु बानेश्वरको बीआइसीसी (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र)मा बसिरहेको बेला मैले कुरा राखेपछि उहाँहरुले ‘इच्छाराजजीले अति नै गर्नुभयो, संवृद्धि थपिदिउँ’ भनेर सहमत हुनुभयो ।

यद्यपि तामाङले संवृद्ध नेपाल, सुखी नेपालीको नाराअनुसार प्रधानमन्त्रीले काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाए । उनी प्रधानमन्त्री कै पार्टी नेकपाबाट साँसद भएका हुन । तामाङले पछिल्लो समयमा जग्गाको कित्ताकाट रोक्ने काम भएकोमा सरकारको आलोचना गर्दै यसलाई व्यवस्थित गर्न जरुरी रहेको बताए ।

ब्यवस्थित हाउजिङ किन जरुरी छ भन्ने कुरा सिल्भर सिटी अपार्टमेन्टबाट देखिएको काठमाडौंको अव्यवस्थित बसोबासले नै स्पष्ट गर्छ भन्दै उनले सरकारले घरजग्गा व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए ।

संघका महासचिव मिनमान श्रेष्ठले सबै जग्गाको कित्ताकाट रोकिँदा आफूहरुलाई काम गर्न समस्या भएको बताए । जग्गाको कित्ताकाट रोकिँदा सरकारसँग प्लानिङ पर्मिट लिएका २० वटा प्रोजेक्टहरु अघि बढन नसकेको भन्दै राज्यले बनाएको कानुनलाई मन्त्रिस्तरीय निर्णयले रोक्न ठिक नभएको बताए ।

जग्गाको कित्ताकाट बर्षमा एक पटक गर्ने कुरा व्यवहारिक नभएकाले श्रेष्ठको भनाई छ । उनले घरजग्गा व्यवसायमा निजी क्षेत्रको दुई खर्ब रुपियाँको लगानी रहेको भन्दै कित्ता काट रोकिँदा अहिले १० प्रतिशत पनि राजश्व उठन नसकेको, यसले गर्दा राजश्व संकलनको सरकारको लक्ष्य पनि पूरा नहुने बताए ।

महासचिव श्रेष्ठले कृषियोग्य जग्गा भनेर अव्यवहारिक कित्ताकाट नगर्न सरकारसँग माग गर्दै घर कर्जाको ब्याजदर पनि कम गर्नुपर्ने बताए । संविधानले हरेक नागरिकको बासको ग्यारेन्टी गरेको बेला घर कर्जाको ब्याजदर महंगो गर्नु ठिक नभएकोले एउटा घर बनाउनलाई सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

पाँच दिनसम्म भृकुटीमण्डपमा चल्ने घरजग्गा मेलाको उदघाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम छ । मेलाको पछिल्लो दुई दिन घरजग्गा सम्मेलन पनि हुनेछ । यस बर्षको सम्मेलन शहरीकरणमा केन्द्रीत हुने आयोजकले जनाएको छ ।

मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुनेछन् । यस मेलामा विद्युतीय सरसामानहरु, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ तथा वास्तुकला जस्ता ब्यवसायमा संलग्न ब्यवसायीहरुले आ–आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा उपलब्ध गराउने आयोजकले जनाएको छ ।

साथै, मेला अवधिमा आफ्नो उत्पादन तथा सेवाहरुको शुभारम्भ गर्न चाहेमा सोको समेत ब्यवस्था गरिएको छ । यस मेलालाई एनआइसी एसियाले प्रायोजन गरेको छ । हाउजिङमा यस व्यवसायसँग सम्वन्धित अन्तर्राष्ट्रिय संगठनका अध्यक्षसमेत आउने संभावना रहेको आयोजकले जनाएको ।

Advertisement

Advertisement