‘आफ्नै पैसाले रेल ल्याए पो गौरवको विषय, नभए के को गौरव ?’

Advertisement

काठमाडौंः नेपाल सरकारका पूर्व सचिव भीमप्रसाद उपाध्यायले चीन र भारतबाट काठमाडौं आउने रेलका विषयमा राजनीतिक रुपमा चर्चा भएपनि इन्जिनियरिङ र आर्थिक रुपमा चर्चा नभएको बताएका छन् ।

रिपोर्टर्स क्लवमा बुधबार उनले भने, ‘रेल ल्याउने कुरा अहिले राजनीतिक रुपमा धेरै बहस भएको छ । रेल ल्याउनु ठूलो कुरा होइन । तर, यसका आर्थिक पाटाका बारेमा पनि बहस तथा चर्चा हुनुपर्छ ।’

उपाध्यायले भारत र चीन दुवैबाट रेल आउने निश्चित भएको बताउँदै भने, ‘चीन र भारत दुवै देशको बोर्डरबाट अर्थात चीनको केरुङबाट काठमामाडौं पनि १०० किलोमिटर नै छ । भारतको रक्सौलबाट काठमाडौं आउन पनि १०० किलोमिटर नै लाग्छ । यसरी हेर्दा भौगोलिक विकटताको हिसाबले चीनबाट काठमाडौं आउने रेलको लागि अलिक बढि कठिनाई छ । अब काम गराईको गतिको हिसावले हेर्ने हो भने त चीन विश्व मै अघि छ । त्यसैले काम सुरु भयो भने चीनबाट काठमाडौं रेल चाँडो आउँछ ।’

उपाध्यायले भारतमा अहिले चलेका रेलहरु पनि तीव्र गतिका नभएको स्पष्ट पारे । उनले भने, ‘अहिले पनि भारतका रेलहरु तगडा छैनन । अब मोर्डनाइजेशन हुँदैछ ।’ भारत र चीन दुवैबाट रेल आउनु राम्रो कुरा भए पनि रेल विकल्पको साधन नभएको उनको भनाई थियो ।

उपाध्यायले थपे, ‘ट्रेनसँगै हामीलाई सडकहरु पनि चाहिन्छन् । रेल आउँदैमा के–के नै भएको जस्तो होइन । रेलको आवगमनसँगै भारत र चीन दुवै देशबाट पर्यटकहरु ल्याउनको लागि प्याकेज चाहिन्छ । अहिले खोई त प्याकेज ?’

विकास र समृद्धि हाँसिल गर्न नेपालको लागि अहिले महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उपाध्यायले भने, ‘अहिले काम गर्ने अवसर छ । कुम्भकर्णबाट अहिले उठेको छ । कुम्भकर्णलाई झक्झकाउन सकिएन भने फेरि ६ महिनापछि सुत्छ ।’ लोकसेवाको अहिलेको सेलेबसमा समेत रेलको विषय समावेश नरहेको सुनाए । उनले भने, ‘रेल ल्याउनु ठूलो कुरा होइन । यहाँ पनि त्यही अनुसारको जनशक्ति चाहिन्छ । त्यतातिर ध्यान दिनुपर्छ ।’

आफ्नै पैसाले रेल आए त गौरवको विषय हुने नभए के को गौरव भन्दै उपाध्यायले प्रश्न गरे । उनले भने, ‘रेल त आजभन्दा ५० वर्ष पहिले जनयनगर–जनकपुर नेपालले चलाएको हो नि ।’

Advertisement

Advertisement

Advertisement