देवः विकास बैंकको नयाँ शाखा नेपालगञ्ज र कोहलपुरमा

Advertisement

काठमाडौंः देवः विकास बैंकको नेपालगञ्जको पुष्पलालचोक र कोहलपुरको बैंकरोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज शाखाको उदघाटन नेपालगञ्ज उपहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले र कोहलपुर शाखाको उदघाटन कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले गरे ।

नेपालगञ्ज शाखाको उदघाटन देवः विकास बैंकका सञ्चालक समितिका अध्यक्ष प्राडा सुवर्णलाल बज्राचार्यको सभापतित्वमा भएको थियो । कार्यक्रममा बैंकका सञ्चालक विजयराज शर्मा भुषालले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ सेवा प्रदान गर्न तथा प्रदेश नं. ५ र ६ का ग्रामीण तथा पहाडी क्षेत्रमा विस्तार गरिने शाखाहरुलाई समन्वय गर्दै त्यस क्षेत्रका ग्राहकलाई सहजता लागि मध्यपश्चिमको नेपालगञ्जबाट बैकिङ सेवा प्रदान गरेको बताए ।

उनले निक्षेपकर्ता, स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाए । सोही अवसरमा नेपाल राष्ट्र बैंक, नेपालगञ्ज क्षेत्रीय कार्यालयका व्यवस्थापक विमल खनालले आर्थिक उत्पादकत्व बृद्धिका लागि कृषिमा लगानी बढाउन तथा सरकारबाट कृषि विकासका लागि प्रदान गरिएका सुविधाहरुलाई उपयोग गर्न सुझाव दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राणाले देशको पश्चिम क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रवेशद्वारका रुपमा विकसित नेपालगञ्ज नगरबाट अन्तर्राष्ट्रिय उडान समेत संचालन हुने तयारीमा रहेकोले पर्यटकीय क्षेत्रमा लगानी बढाउनका साथै कृषि क्षेत्रमा समेत लगानी बढाउन आग्रह गरे ।

कोहलपुर शाखाको उदघाटन कार्यक्रममा बैंकका सञ्चालक भुषालले पश्चिम नेपालको केन्द्रका रुपमा रहेको कोहलपुरबाट प्रदान गरिने बैंकिङ सेवाबाट शहरी क्षेत्रलगायत अन्य ग्रामीण तथा पहाडी क्षेत्रका सेवाग्राहीहरुमा वित्तीय पहँुच पुर्याउन सहयोग पुग्ने बताए ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले तीब्र शहरीकरण भइरहेको कोहलपुर क्षेत्रमा आर्थिक गतिविधिमा बृद्धि गर्नका लागि देवः विकास बैंकको शाखाबाट सहयोग पुग्ने बताए । कोहलपुर नगरपालिकाका मेयर रावतले सामाजिक आर्थिक गतिविधिमा कोहलपुरमा रहेका बैंकहरुलाई प्राथमिकतामा राखी कार्य गर्ने बताए ।

बैंक सञ्चालक समितिका अध्यक्ष बज्राचार्यले स्थानीय क्षेत्रको आर्थिक सम्बृद्धिका लागि लगानी र अवसर सिर्जना गर्न नयाँ शाखाहरुले सहयोग पुग्ने बताए ।

Advertisement

Advertisement