नेशनल लाइफले ९९ लाख ३६ हजार कित्ता हकप्रद शेयर बिक्री आजदेखि खुलायो

Advertisement

काठमाडौंः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबार ९९ लाख ३६ हजार चार सय ७० कित्ता हकप्रद शेयर खुल्ला गरेको छ । यो बीमा कम्पनीले ९९ करोड ३६ लाख ४७ हजार रुपियाँ बराबरको हकप्रद निष्काशन गरेको हो ।

हकप्रदका लागि आवेदन गर्न साउन १ देखि भदौ ४ गतेभित्र दिनुपर्ने समय सीमा तोकिएको छ । बीमा कम्पनीले एक अर्ब ६५ करोड ६० लाख ७९ हजार पाँच सय ९० रुपियाँ चुक्तापूँजी बढाउन हकप्रद निष्काशन गरेको हो । हकप्रद बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी दुई अर्ब ६४ करोड ९७ लाख रुपियाँ पुग्ने कम्पनीले जनाएको छ ।

कम्पनीले १० कित्ता शेयर बराबर नयाँ ६ कित्ताको अनुपातमा हकप्रद वितरण गर्न लागेको हो । हकप्रद शेयरको लागि यही असार २१ गतेसम्म कायम रहेका शेयरधनीले आवेदन दिन पाउने छन् ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीमा संस्थापक सेयरधनी नेपालीको ४५, विदेशी संस्थापकको १०, सर्वसाधारणको ३५ र राष्ट्रिय वाणिज्य बैंकको १० प्रतिशत स्वामित्व रहेको छ ।

Advertisement

Advertisement

Advertisement