खेतीयोग्य जग्गा बाँझो राखे जग्गा अकैलाई दिइने

Advertisement

बुटवल । रूपन्देहीको सैनामैनामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन । न त प्लटिङका नाममा जग्गा खाली छाड्ने छुट हुनेछ । प्लटिङ गरेर स–साना टुक्रामा समेत जे मिल्छ, त्यही खेती गर्नुपर्नेछ । नत्र सैनामैना नगरपालिकाले जग्गावालाबाट जरिवाना असुल्ने छ । जरिवाना लिएर त्यस्तो जग्गा नगरपालिका आफैंले भाडामा लगाउनेछ ।

खेतीयोग्य जमिनमा भएको खण्डीकरण र प्लटिङ रोक्न यस्तो गरिएको नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए । ‘अब कुनै बहानामा खेतीयोग्य जमिन प्लटिङ गर्न पाइने छैन,’ उनले भने, ‘यसअघि भएका प्लटिङ पनि खाली राख्न दिनेछैनौं ।’

नगरपालिकाको तथ्यांकअनुसार १६२.१८ वर्गमिटर क्षेत्रफल रहेको सैनामैनाको करिब ९० प्रतिशत भूमि खेतीयोग्य छ । पछिल्लो समय जनसंख्या बढ्ने तर प्लटिङले खेतीयोग्य जमिन मासिनेक्रम तीव्र छ । नगरप्रमुख कार्कीले खेतीयोग्य जग्गा किन्ने र बाँझो छाड्ने प्रचलन रोक्न यस्तो गरिएको बताए । ‘कि जग्गावाला आफैंले जे खेती गर्न मिल्छ गरून् नभए उनीहरूबाट जरिवाना लिएर नगरपालिकाले अरू किसानलाई भाडामा दिनेछ ।’

नगरपालिकामार्फत किसानलाई जग्गा करारमा दिने भएकाले यसबाट व्यवसायी आत्तिनु नपर्ने उनले बताए । भूउपयोग नीतिलाई कार्यविधिमार्फत प्रयोगमा ल्याउने नगरपालिकाको तयारी छ ।

सबैभन्दा बढी जग्गा प्लटिङ भएको तिलोत्तमा नगरपालिकामा पनि अब जग्गा खाली राख्न पाइने छैन । यही वर्षदेखि लागू हुने गरी नगरले कृषिभूमि उपयोग नीति बनाएपछि प्लटिङसमेत रोकिएको छ । खेतीयोग्य जग्गामा खण्डीकरण रोक्न र उत्पादन बढाउन यसो गरेको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

आजको कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement