ग्राउन्ड ह्यान्डलिङले गर्दा निगमको नाफा देखियो

Advertisement

काठमाडौं । घाटा र बेथितिको आफ्नो पूरानो रोगलाई सुधार गर्दै नेपाल वायुसेवा निगमले नाफामा सुधार जारी रोखेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले गएको आर्थिक वर्षमा ३५ करोड रुपियाँ नाफा गरेको जनाएको छ ।

यो नाफा अघिल्लो आर्थिक बर्षको भन्दा ११ करोड रुपियाँ बढी हो। आर्थिक बर्ष २०७३।७४ मा उसले २४ करोड नाफा गरेको थियो त्यो भन्दा अघिल्लो बर्ष १६ करोड ८३ लाख कमाएको थियो ।

निगमले गएको आर्थिक बर्षमा १२ अर्ब ५० करोड रुपियाँ आम्दानी गरेकोमा १२ अर्ब १५ करोड खर्च गरेको छ । ग्राउन्ड ह्यान्डलिङबाट मात्रै तीन अर्ब ९२ करोड रुपियाँभन्दा बढी आम्दानी हुँदा निगमलाई आम्दानी देखाउन बाटो खुलेको हो ।

ग्राउन्ड ह्यान्डलिङको जिम्मा नपाएको भए निगम यसअघि नै धरासायी भइसक्ने पर्यटन व्यवसायीहरु बताउँछन् । जहाज किन्न विभिन्न संस्थाबाट लिएको ऋण नै साढे ३६ अर्ब रुपियाँभन्दा बढि रहेको निगमले जहाज थप्दै लगे पनि सन्तोषजनक नाफा भने गर्न सकेको छैन ।

निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जहाजहरु थपिने क्रमसँगै निगमको नाफा बढने दावी गर्दै आएका छन् । उनले जहाजहरु थपिँदा सञ्चालक खर्च उही रहने तर आम्दानी बढने भन्दै समयमा ऋण चुक्ता गरेर नाफामा जान समस्या नरहेको बताउँदै आएका छन् ।

दुई वटा वाइडबडी जहाजहरु थपिएपछि अब निगमले पर्यटकको खानी रहेका गन्तव्यहरुमा उडान सुरु गर्ने कंसाकारले बताएका छन् । उनले यसबाट निगमलाई मात्रै नभएर मुलुकलाई पनि फाइदा हुने उनको भनाई छ । निगमले अझै दुई वटा न्यारोबडी जहाज र आन्तरिक उडानका लागि अरु जहाजहरु खरिद गर्ने बताएको छ ।

Advertisement

Advertisement