संसदमा प्रस्तुत नागरिकता विधेयक अपूरो रहेको भन्दै सुधार गर्न एनआरएनए थाइल्याण्डको माग

Advertisement

बैंकक । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको महिला फोरमले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न हालै नेपालको संसदमा प्रस्तुत मस्यौदा विधेयक अपूरो रहेको भन्दै यसमा सुधार गर्न संसद र सरकारको ध्यानाकर्षण गरेको छ ।

नागरिक ऐनको यस मस्यौदाले गैरआवासीय नेपाली महिला र पूराना पुस्ताका गैरआवासीय नेपालीहरुका मागहरु नसमेटिएको भन्दै संसद र सरकारको ध्यानाकर्षण गरेको छ । महिला फोरमले आइतबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा संसद निरु पालले एनआरएनए थाइल्याण्डले नागरिकताको विषयमा उठाएका मागहरु जायज भएको बताइन । उनले यसमा सकारात्मक परिणाम ल्याउनका लागि आफूले सक्दो पहल गर्ने बताइन ।

पूर्वमन्त्री भगवती चौधरीले नागरिकताका सम्वन्धमा गैरआवासीय नेपालका माग र चासोलाई सरकार र संसदसम्म पुर्याउने बताइन ।

एनआरएनए थाइल्याण्ड महिला फोरमकी संयोजक मेघा चन्दले नागरिकता ऐनको हालको मस्यौदामा विदेशमा रहेका नेपाली चेलीहरुका छोराछोरीलाई पनि आमाको नाममा नागरिकता दिने प्रष्ट व्यवस्था गर्नुपर्ने माग राखिन ।

त्यस्तै, दोस्रो विश्व युद्धताका बर्मा हुँदै थाइल्याण्ड र मलेसिया पुगेर बसोबास गर्दै आएका दोस्रो र तेस्रो पुस्ताका नेपालीहरुको बारेमा प्रस्तावित मस्यौदा मौन रहेको रहेको भन्दै उनले यस विषयलाई पनि प्रस्तावित ऐनमा प्रस्टरुपले समेट्न नेताहरुलाई आग्रह गरिन ।

थाइल्याण्ड र मलेसियामा बस्दै आएका यस्ता नेपालीहरुसँग पुख्यौली कागजहरु नभएकोले नेपाली नियोग र स्थानीय गैरआवासीय नेपाली संघको सिफारिसमा गैरआवासीय नागरिकता दिने व्यवस्था गर्न चन्दले लिखित सुझावसमेत दिएन ।

’सम्बृद्ध नेपालका लागि गैरआवासीय नेपालीका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तथा नेपाल पोलिसी इन्ष्टिच्युटका अध्यक्ष खगेन्द्र ढकालले विश्वभरि छरिएर रहेका नेपाली विशेषज्ञहरुले नेपालको विकासका लागि अनुसन्धान गरि अल्पकालीन र दिर्घकालिन वैकल्पिक नीतिहरु उपलब्ध गराएर सहयोग गर्न एनआरएनएले भर्खरै पोलिसी इन्स्टिटुटको स्थापना गरि अगाडी बढेको जानकारी गराए ।

किङग मङ्ग्कुट विश्वविद्यालयमा प्राध्यापक ढकालले नेपालको आर्थिक समृद्दिको लागि नेपाल बाहिर रहेका नेपालीहरु आर्थिक कुटनीतिको प्रवर्धन, ज्ञान, प्रविधि र सीप हस्तान्तरण गर्न पनि सक्षम र इच्छुक रहेको बताए ।

गैरआवासीय नेपाली संघ थाइल्याण्डका सल्लाहकार अमृत श्रेष्ठले व्यापार र लगानी प्रवद्र्धन गर्न एसियाका विभिन्न देशहरुमा भएका राम्रा अभ्यासहरु गैरआवासीय नेपालीमार्फत नेपाल सरकारले उपयोग गर्नसक्ने बताए ।

एनआरएनए थाइल्याण्डका अध्यक्ष आसजिता अवालेले नेपालको पर्यटनमा थाइल्याण्ड एउटा ठूलो सम्भावना रहेको बताए । पर्यटकको सुविधाको लागि नेपालको त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल र स्थानीय विमानस्थलमा छोटो हिडेर जान मिल्ने बाटो खोल्न उनले सुझाव दिए ।

एनआरएनए थाइल्याण्डका महासचिब रवि महर्जनले एनआरएनए थाइल्याण्डले स्थानीय नागरिक अभियानसँगको साझेदारीमा गोरखा र दोलखाका ४० जना भूकम्प पीडित एवं उपेक्षित विद्यार्थीलाई १२ कक्षासम्म अध्ययनका लागि छात्रवृत्ति परियोजना सुरु गरेको बताए ।

कार्यक्रममा एनआरएनए थाइल्याण्डका संरक्षक डेविड खनाल, सल्लाहकारहरु भारती लिम्बुनी, कुमार कार्कीले प्रवासमा रहेर पनि नेपालको संस्कृति र पहिचानलाई संरक्षण गर्न सफल भएको बताए । एनआरएनए थाइल्याण्डका उपाध्यक्षहरु महेन्द्र श्रेष्ठ, भविन्द्र बस्नेत, सागर लामा, कोषाध्यक्ष कान्छा गाबो गुरुङ, सहसचिव केशव आचार्य, कार्यकारी सदस्य अतिस श्रेष्ठ र एनआरएनए थाइल्याण्डका प्रतिनिधिहरुले अन्तरक्रियामा भाग लिएका थिए ।

Advertisement

Advertisement

Advertisement