बिमस्टेकको सचिवस्तरीय बैठक सुरु, आजैदेखि सरकार प्रमुखहरु आउन थाल्ने

Advertisement

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक)को बिहीबार हुन लागेको शिखर सम्मेलनको प्रारम्भमा मंगलबार सचिवस्तरीय बैठक सुरु भएको छ ।

परराष्ट्र सचिव शंकर दास वैरागीको अध्यक्षता काठमाडौंको सोल्टी होटलमा १९औं सचिवस्तरीय बैठक सुरु भएको हो । सचिवस्तरीय बैठक सकिएपछि मन्त्रीस्तरीय बैठक सुरु हुनेछ । सचिवहरुको बैठकमा आठभन्दा बढी एजेन्डामा छलफल हुने जनाइएको छ ।

बैठकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका विदेश सचिवहरु सहभागी छन् । यो बैठकले पास गरेका एजेण्डा मन्त्रीस्तरीय बैठकले पास गरी शिखर बैठकमा पेश हुनेछ ।

शिखर बैठकमा सहमति जुटेका समझदारी तथा सम्झौतापत्रमा अन्तिममा हस्ताक्षर गरिन्छ । बिमस्टेक बैठकमा कनेक्टिभिटी, व्यापार, लगानी, सुरक्षा तथा आतंकवाद, गरिवी निवारण जस्ता मुद्दाहरुले प्राथमिकता पाउने जनाइएको छ ।

सम्मेलनमा भाग लिन आजबाटै सरकार प्रमुखहरु आउन सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सुरुमा भदौ १२ गते म्यानमारका प्रधानमन्त्री आउने र १३ गते म्यानमारसँग दुईपक्षीय भेटवार्ताको कार्यक्रम छ ।

भदौ १३ गते भुटान र श्रीलंकाका र १४ गते बिहान बाँकी तीन देशका नेता आउने छन् । भदौ १४ गते बिहान सम्मेलन सुरु भएपछि साँझ पाहुनाहरुको स्वागतमा रात्रीभोजको कार्यक्रम तय गरिएको छ । त्यस्तै, १५ गते विहान गोकर्ण रिसोर्टमा रिट्रिटको कार्यक्रम र केही दस्तावेजमा हस्ताक्षरको कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement