दुर्घटनामा परेकी आमाको गर्भ चिरीएर सडकमा निस्किएको बच्चा बाँच्न सफल

Advertisement

एजेन्सी । ब्राजिलको एक भयानक दुर्घटनामा एक बालिका अप्रत्याशित रुपमा बाँच्न सफल भएकी छन् ।

काठले भरिएको एक ट्रकमा गर्भवती महिला यात्रा गरिरहेकी थिइन् । यात्राका क्रममा साओ पाउलो र क्युरिटिबाबीचको सडकखण्डमा ट्रक दुर्घटना भयो । ती गर्भवती महिला ट्रकभित्रको काठले थिचिनुअघि ट्रकको क्याबिनबाट उछिटिएर बाहिर पुगिन् । जसका कारण ती महिलाको पेट चिरियो । अचम्म त के भयो भने उद्दारकार्यमा खटेकाले महिलाको पेटबाट निस्किएको बच्चा उनीभन्दा केही पर घाँसमाथि रोइरहेको अवस्थामा भेटियो । ती नवजात शिशुलाई अलिकति पनि चोट नलागेको र नाल पनि दुर्घटनामा काटिएको विभिन्न रिपोर्टलाई उद्धृत गर्दै डेली मेलले बताएको छ । बालिकाको पारिक्वेरा–एक क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका बेला उनकी आमा ३९ हप्ताकी गर्भवती थिइन् । घटनास्थलमा पहिलो पटक पुग्ने प्यारामेडिक एल्टन फर्नान्डो बार्बोसाले उक्त भयानक दुर्घटनामा बालिका बच्नु एक चमत्कार भएको बताउँछिन् । उनी भन्छिन्, ‘उनलाई भगवानले नै हात थापेका हुन् । उनी कसरी बाँचिन् म आफैंपनि अचम्मित छु । महिलालाई धेरैवटा काठले थिचेको थियो । ’

दुर्घटनामा आमालाई बचाउन नपाउँदा आफूहरु दुःखी भएको उनले बताइन् । अस्पतालका स्टाफले बालिकाको नाम ‘जियोभान्ना’ राखेका छन् जसको अर्थ ‘भगवानद्वारा सुरक्षित’ हो । सामान्य घाइते ट्रक ड्राभइरले ती महिलालाई लिफ्ट मात्र दिएकाले उनीबारे केही जानकारी नभएको बताए ।

Advertisement

Advertisement

Advertisement