नेविसङ्घमा उमेरहदको विवाद बल्झियो, निर्णयका लागि पार्टीमा प्रस्ताव लगिने

Advertisement

काठमाडौैं । नेपाल विद्यार्थी सङ्घले १२औँ महाधिवेशनबाट लगाउने भनिएको ३२ वर्षे उमेर हद हटाउन पार्टी निर्देशक समितिमा प्रस्ताव गर्ने भएको छ ।

नेविसङ्घको भर्खरै सम्पन्न बैठकमा ३२ वर्षे उमेरहद हटाउने वा नहटाउने भन्ने विषयमा विवाद भएपछि निर्णयकालागि पार्टीमा पठाउने सहमति भएको उपाध्यक्ष पवन कुमार यादवले जानकारी दिए । बैठकमा ३२ वर्ष भन्दा कम उमेरका सदस्यहरुले उमेरहद कायम राख्नुपर्ने र बढि उमेर भएकाले हटाउनुपर्ने माग राखेपछि सहमति हुन नसकेको यादवले बताए ।

नेविसङ्घको ११औं महाधिवेशनले १२औं महाधिवेशनबाट लागू हुने गरी उमेरहद ३२ वर्ष राख्ने निर्णय गरेको थियो । तर अध्यक्ष लगाएत माथिल्लो पोष्टका अधिकांश आकाक्षीहरु ३२ वर्ष काटिसकेकाले उमेरहद हटाउनुपर्नेमा उनिहरुको जोड रहेको छ ।

यादवले अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीसहितको ६ सदस्यीय समितिले बैठकमा उठेका विषयलाई समेटेर सबैसँग आवश्यक समन्वय गरी सङ्घको संशोधित विधान र नियमावली यही भदौ २७ गते पार्टीलाई बुझाउने बताए ।

नेविसङ्घले पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि अगामी असोज ६ गते देशभरका माध्यमिक विद्यालय र क्याम्पस अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्रीय अधिवेशन तथा आगामी असोज २१ गते ७७ वटै जिल्लाको अधिवेशन गर्ने समय तालिका बनाएको छ ।
यस्तै असोज २३ गते उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातवटै प्रदेशको अधिवेशन र कात्तिक १६ गते केन्द्रीय महाधिवेशन गर्ने समय तालिका सार्वजनिक गरिएको यादवले जानकारी दिए । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले तोकिएकै समयभित्र अधिवेशन सम्पन्न गर्नका लागि आफू लागिरहेको बताए ।

Advertisement

Advertisement

Advertisement