‘महाधिवेशनले गलत नेतृत्व चयन गर्दा काँग्रेसको यो हविगत भयो’

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीलाई गतिशील र ठूलो दलको रुपमा स्थापित गरेर मात्रै विश्राम लिने बताएका छन् । लक्जेम्बर्गमा आइतबार कांग्रेस निकट नेपाली जनसम्पर्क समितिको प्रथम अधिवेशना उनले काँग्रेसलाई पुरानै अवस्थामा पुर्याउने बताएका हुन् ।

पौडेलले भने, ‘कांग्रेसले मुलुकमा धेरै विकास गरेको छ । मैले कांग्रेसभित्र नयाँ जीवन ल्याएर मात्रै विश्राम लिनेछु । मैले कहिल्यै पनि कांग्रेसलाई शिर झुक्न दिइन । लोभलालच गरेको छैन ।’ सत्तामा रहँदा कांग्रेसका नेताहरूले लोभ गरेका कारण कांग्रेसको बद्नाम भएको उनले भनाई छ ।

कांग्रेसलाई विधान र प्रक्रियाअनुसार चलाउनुपर्ने बताउँदै पौडेलले भने, ‘पार्टी मिलाउँछु भनेर मात्रै हुँदैन । विधि र प्रक्रियाबाट चलाउनुपर्छ ।’ सभापति देउवाप्रति असन्तुष्टि जनाएका उनले सबैलाई मिलाएर मात्रै कांग्रेस बन्ने अन्यथा गुट र उपगुटभित्र जकडिने बताए ।

नेता पौडेलले कांग्रेसले मुलुकमा धेरै विकास गरेको बताउँदै भने ‘सडक, अस्पताल, पुल, पिउने पानीका योजना हामीले बनाएका छौँ । कांग्रेसले मेलम्ची ल्याएको हो । अहिले कम्युनिस्टहरू मेलम्चीमा गएर फोटो खिच्छन् ।’ कांग्रेसले गरेका कामहरूलाई कम्युनिस्टहरूले मैले गरेको हो भनेर जस लिने काम गरिरहेको उनले आरोप लगाए ।

कम्युनिष्टहरूले जनतालाई झुक्काएर बहुमत ल्याएको पौडेलको भनाई छ । कम्युनिस्टहरू कमजोर भए भने कांग्रेस बलियो हुन्छ भनेर कहिल्यै सोच्न नहुने उनले बताए । पौडेलले भने, ‘कांग्रेससँग कम्युनिस्टहरूको कुनै प्रतिस्पर्धा छैन । कम्युनिष्टहरूले जनता झुक्काएर बहुमत ल्याएका हुन् ।

उनले कांग्रेसभित्रैको समस्याले काँगेस पराजित भएका हो भन्दै हाम्रो पक्षमा अहिले पनि जनता छन् । जनताको विश्वास कांग्रेसमाथि छ भने । केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड मिलेर कम्युनिजम् ल्याउनै नसक्ने पौडेलले बताए ।

उनले भने, ‘ओली र प्रचण्ड मिलेर कम्युनिजम् ल्याउने रे ? लेनिन र माओले ल्याउन नसकेको कम्युनिजम् ओली र प्रचण्डले ल्याउँने ? कम्युनिजम् ल्याउने उनीहरूको छाँटकाँट नै छैन । सरकारको नेतृत्व लिएको छ महिना भयो । काम गराइको छाँटकाँट छैन । ओली र प्रचण्डले थोरै काम गरेर जनतालाई राहत दिए भने पनि त्यो धेरै हुन्थ्यो ।’

वरिष्ठ नेता पौडेलले ओली र प्रचण्डले सरकारी ढुकुटीबाट आफ्ना कार्यकर्तालाई पाल्नेभन्दा केही गर्न नसकेको आरोप लगाए । उनले ओली र प्रचण्डलाई अर्को शोषक वर्गको संज्ञा दिए । पौडेलले भने, ‘ओली प्रचण्ड अर्को शोषण वर्ग भएर जन्मिएका छन् । हामीले अर्को शोषण वर्ग जन्मायौं । प्रचण्ड र ओलीले शोषण वर्ग हुन् । देश र जनताका लागि केही गर्ने छैनन् ।’

ओली र प्रचण्डले देशमा निरंकुशता ल्याउन बेलाबेला जमर्को गर्ने गरेको भन्दै उनले थपे, ‘कांग्रेस भएकाले यिनीहरू निरंकुश बन्न डराइ रहेका छन् । ओली र प्रचण्डलाई कांग्रेसले चुनौती दिएको छ । कांग्रेससँग कम्युनिस्टहरू डराइरहेका छन् ।’ निरंकुशता ल्याउने प्रयास गरियो भने पनि कांग्रेसले त्यसको कडा प्रतिवाद गर्ने पौडेलले चेतावनी दिए ।

उनले काँग्रेस महाधिवेशनले गलत नेतृत्व चयन गर्दा पार्टीको अहिले यो हबिगत भएको भन्दै काँग्रेसका आम नेता कार्यकर्ताले अब सोच्ने बेला आएको बताए । उनले काँग्रेसमा निष्ठा र भिजनसहितको नेतृत्व जनताले खोजिरहेको भन्दै अबको काँग्रेस आर्थिक विकासको दीर्घकालिन मोडलसहित आफूलाई प्रस्तुत गर्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement