पूरक बजेट ल्याउने प्रचण्डको भनाईलाई अर्थमन्त्रीले खण्डन गरे

Advertisement

काठमाडौ । अर्थमन्त्री युवराज खतिवडाले पूरक बजेट ल्याउने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईलाई खण्डन गरेका छन् । अर्थमन्त्रालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा उनले पूरक बजेटबारे कुनै पनि छलफल नभएको बताएका हुन।

प्रचण्ड भारत भ्रमण सकेर फर्किने क्रममा पूरक बजेट ल्याउने तयारीमा सरकार रहेको भन्दै वृद्धभत्ता बढाइनेलगायतका लोकप्रिय कार्यक्रम ल्याउने बताएका थिए । तर अर्थमन्त्री खतिवडाले त्यो कुरामा कुनै सत्यता नरहेको भन्दै पूरक बजेटबारे कुनै छलफल नै नभएको बताए ।

कम्तिमा पनि चालु बजेटको अर्धवार्षिक समीक्षा नभएसम्मका लागि पूरक बजेट आउने कुनै संभावना नरहेको उनको भनाई छ । खतिवडाले भने, ‘बजेटको अर्धवार्षिक समीक्षा गर्दा कुनै क्षेत्रमा खर्च गर्न पुगेन वा राजस्व संकलन उच्च भएर नयाँ क्षेत्रमा खर्च गर्नुपर्ने अवस्था आएमा पूरक बजेट ल्याउने हो । यस विषयमा सरकारले अहिले छलफल नै गरेको छैन।’

राजस्व सचिव शिशिर ढुँगानाले स्थानीय निकायमा देखिएका कर विवादबारे अध्ययन भइरहेको जनाउँदै केही दिनमै यसबारेको प्रतिवेदन आउने जानकारी दिए ।

मन्त्रालयले चालू अर्थिक वर्षको पहिलो दुई महिनामा एक खर्व २० अर्ब रुपियाँ राजस्व संकलन भएको जनाएको छ। उनका अनुसार यो आय गतवर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले बढि हो। समीक्षा अवधिमा एक खर्व तीन अर्व रुपियाँ खर्च भएको छ। यसमध्ये ९६ अर्ब रुपियाँ चालू र सात अर्ब रुपियाँ पूजीगत शिर्षकबाट खर्च भएको छ ।

Advertisement

Advertisement

Advertisement