जलाशययुक्त तनहुँ जलविद्युत निर्माण गर्न ठेकेदार कम्पनीहरुसँग ठेक्का सम्झौता

Advertisement

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ ।

आयोजनाको नदी फर्काउने, बा“ध लगायतका पहिलो प्याकेजका संरचना (हेड वर्कस) निर्माणका लागि इटालियन कम्पनी सिएमसी (कोअरेटिभ मुराटोरी एण्ड केमेन्टिस्टि)सँग सम्झौता भएको हो ।

तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीका तर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारोले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता भएको हो ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग सम्झौता भएको छ ।

तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सिनो हाइड्रोका तर्फबाट आधिकारिक प्रतिनिधि छेङ सोएस्याङले सम्झौतापत्रमा हस्ताक्षर गरे । कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र तीन अर्ब ८३ करोड १४ लाख (मूल्य अभिबृद्धि करबाहेक)मा खरिद सम्झौता भएको हो ।

दुवै प्याकेजको निर्माण कार्य दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ । प्रवन्ध सञ्चालक थिकेले तनहुँ जलविद्युत आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युतको लोड व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना भएको बताए ।

उनले आयोजना निर्माण निर्धारित समयमा सम्पन्न गर्र्ने प्रतिबद्धताका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र निर्माण कम्पनीहरुका उच्च तहको व्यवस्थानबीच दशैं अगावै छलफल गर्न लागिएको पनि बताए ।

तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको थियो ।

पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका पाँच कम्पनीहरुमध्ये तीन वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका तीन वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मुल्याङन भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहँुको रिसिङ गाउँपालिका–१मा कार्यालय तथा कर्मचारी आवास गृह निर्माणको काम अन्तिम चरणमा छ ।

जलाशय क्षेत्रको जग्गा प्राप्तिका लागि ९५ प्रतिशत मुआब्जा वितरण भइसकेको जनाइएको छ । बाँधतर्फ जाने पहुँच मार्ग निर्माण र व्यास नगरपालिका–५मा बन्ने श्रमिक आवास गृहका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भई मुआब्जा वितरण सुरु गर्ने प्रक्रियामा छ ।

आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेष्टमेन्ट बंैक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

Advertisement

Advertisement

Advertisement