लेखा समितिप्रति मन्त्री यादवको आक्रोशः भन्छन— सबै वस्तुको मूल्य समितिले नै तोकोस्

Advertisement

काठमाडौं। उद्योगमन्त्री मातृकाप्रसाद यादवले चिनीको मूल्य बढाउन आफूहरुले १ अर्ब ६९ करोड रुपैयाँ चलखेल गरेको भन्दै पत्रपत्रिकामा छापिएको समाचारको खण्डन गरेका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री यादवले संसदको सार्वजनिक लेखा समितिको बैठक तथा पत्रपत्रिकामा अफुप्रति आएको आर्थिक अनियमितताको आरोपको खण्डन गरेका हुन् ।

मन्त्री यादवले सभापुखलाई पत्र लेख्दै उक्त आरोपको सम्बन्धमा सत्य तथ्य छानिबन गर्न पनि आग्रह गरेका छन् ।

यस्तै यादवले चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ प्रतिकेजी बनाउने विषयमा आफूले कसैसँग सम्झौता नगरेको पनि बताए। लेखा समितिप्रति आक्रोशित देखिएका यादवले भने, ‘चिनीको मूल्य ६३ रुपैयाँ बनाउनु भनेको छ, अब तरकारीको पनि उनीहरुले तोकुन्, अरु वस्तुको पनि उनीहरुबाटै तोकियोस्।’

यसैगरी यादवले निम्बस ब्राण्डको तेल उत्पादन गर्ने उद्योगमा आफुले थालेको कार्वाही र त्यसको फुकुवाको पनि बचाउ गरेका छन् । निम्बसले गुणस्तरीय तेल उत्पादन र निर्यातको प्रतिबद्धता जनाएकाले उसको उद्योगमा लगाइएको ताला खोलिएको उनको दाबी छ ।

निम्बसका उत्पादनमा कैफियत देखिएपछि उद्योगमा ताला लगाएर छानबिन गरिएको र उसले गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएपछि ताला खोलिएको उनले बताए। मन्त्री यादवले कानुन विपरीतका काम गर्नेलाई लगानी भित्र्याएको नाममा कुनै छुट नदिइने पनि बताए।

उनले निम्बस विरूद्ध अदालतमा मुद्दा चलिरहेको पनि जानकारी गराए । मन्त्री यादवले लगानी प्रोत्साहन गर्न सरकारको नीति भएपनि कानुन विपरीत काम गर्ने छुट कसैलाई नहुने बताए ।

उक्त अवसरमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जिल्ला प्रशासन कार्यालय बर्दियाको सिफारिसअनुसार आफूले घोराही सिमेन्टमा कारबाही अघि बढाएको र गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएपछि छाडिएको जानकारी गराए।

Advertisement

Advertisement