सुधार प्रयास हुँदा हुँदै पनि सेयर बजार घट्न रोकिएन, नेप्से १७ अंकले घट्यो

Advertisement

काठमाडौं । सेयर बजार सुधारका लागि पछिल्लो समयमा प्रयासहरु भए पनि बजार घट्ने क्रम जारी रहेको छ । सोमबार सेयर बजार परिसुचक नेप्से १७ दशमलव २६ अंकले घट्यो । आइतबार पनि नेप्से १० अंकले नेप्से घटेको थियो ।

सेयर बजार सुधारका लागि अर्थ मन्त्रालयद्धारा गठित कार्यदलले दिएको सुझावअनुसार नेपाल राष्ट्र बैंकले केही नीतिगत निर्णय गर्नुका साथै बैंकहरुले आफ्नो ब्याजदरमा कमी गरेर एकल अंक प्रतिशत कायम गर्दा पनि सेयर बजारमा सुधार नदेखिनुले धेरै लगानीकर्ताहरुमा निराशा बढेको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकहरुको मुनाफा ४० प्रतिशतभन्दा बढि देखिएको छ भने सेयर कारोबारमा अनलाइन प्रणालीको सुरुवात भएको छ । माग र आपूर्तिको समस्यालाई न्यून गर्न बैंकहरुलाई समेत स्टक ब्रोकरको लाइसेन्स दिने काम भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर बजारमा ढुक्क भएर लगानी गर्न आग्रहसमेत गर्दै आएको बेला नेप्सेमा भारी गिरावट कायम रहेको हो ।

आज उत्पादनमूलक, जलविद्युत र वित्त समूहमा केही सुधार देखिए पनि बाँकी समूहका उपसुचकहरु भने घटेका छन् । कारोबार पनि ४० करोडमा सीमित भएको छ ।

Advertisement

Advertisement

Advertisement