नागरिकता सच्याउँदै जागिर लम्ब्याउँदै विद्युत प्राधिकरणका निर्देशक

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा १० तहको क्षेत्रीय निर्देशकमा कार्यरत ओमप्रकाश महतोले जागिर लम्ब्याउन नागरिकतामा उमेर सच्याएर १८ महिना कान्छो बनाएको तथ्य खुलेको छ ।

प्राधिकरणको वर्तमान व्यवस्थापनका सहयोगी र प्रियपात्रका रुपमा चिनिएका महतोले जागिर खाँदा पेश गरेको नागरिकताअनुसार एक बर्षअघि नै अवकाश पाइसक्ने थिए । तर, उनले नागरिकता सच्याउँदै नयाँ नागरिकता पेश गरेपछि अब उनको अवकाश मिति २०७६ साउन १५ गते कायम भएको छ ।

यद्यपि उनले जागिर लम्ब्याउन गलत ढंगले नागरिकताको उम्मेर सच्याएर पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले उनको यसअघि र नयाँ नागरिकताको डकुमेन्टहरु खिचेको छ ।

प्राधिकरणको अभिलेख शाखाका प्रमुख राजन कोइरालाले महतोको दुई वटा नागरिकता पेश भएको तथ्य स्वीकार गरे । उनले भने– दुई वटा नागरिकताको कुरा अख्तियारमा पुगेच । अख्तियारप्राप्त निकायले मागेपछि हामीले एकडेढ महिनाअघि सबै विवरण बुझाइसकेका छौं ।

कोइरालाले महतोको यसअघिको र अहिलेको नागरिकताको प्रतिलिपि माग गर्दा दिन अस्वीकार गरे । उनले सुचना अधिकारीमार्फत पत्र लिएर आउन सल्लाह दिँदै आफूले त्यत्तिकै प्रतिलिपि दिन नसक्ने तर्क अघि सारे । कोइरालाले भने, ‘मैले पनि माथिको आदेश मान्नुपर्छ । तपाईंले मागेको डकुमेन्ट अहिले मसँग पनि छैन् । तुलाराम गिरी सरले राख्नुभएको छ । सुचना आयोगमार्फत पत्र आएको अवस्थामा हामीले दिन्न भन्न मिल्दैन । दिन्छौं ।

प्राधिकरणका अर्का एक कर्मचारीले भने महतोको बदमासी बाहिरिने डरले व्यवस्थापनको निर्देशनमा गिरीले महतोको फाइल लुकाएर राखेको बताए । जनकपुर क्षेत्रीय प्रमुख रहेका महतो थुप्रै आर्थिक अनियमिततामा मुछिँदै आएका व्यक्ति हुन् ।

Advertisement

Advertisement