शहरको सौन्दर्य विग्रने गरी पोल र सडकमा तार छोड्नेलाई कारवाही गरिने

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पोल तथा सडकमा अव्यवस्थित रुपमा तार छोड्ने सेवा प्रदायकहरुमाथि कारबाही गर्ने भएको छ ।

शुक्रबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले पोल तथा सडकमा तार लथालिङ्ग नछोड्न आग्रह गर्दै त्यसको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले सम्बन्धित इन्टरनेट सेवा प्रदायकहरुले खम्बाहरुको स्वामित्व भएका संस्थाहरु नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमसँग आवश्यक समन्वय गरी एक महिनाभित्र आफ्नो कम्पनीको पहिचान खुल्ने गरी ट्याग लगाउन र बन्डलिङ गर्न पनि निर्देशन दिएको हो ।

यसै गरि प्रयोगमा नरहेको तार हटाउने, भुईबाट झुण्ड्याइएको तारसम्मको दूरीलगायत कुराहरुमा प्रधिकरणले तोकेको मापदण्ड बमोजिम हुने गरी अनिवार्य रुपले व्यवस्थित गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ ।

प्राधिकरणको सूचनामा भनिएको छ ‘काठमाडौं उपत्यकालगायतका सम्पूर्ण शहरी क्षेत्रहरुका सडकका दुवै किनारामा टेलिफोन तथा बिजुलीको खम्बामा रहेका तथा लत्रिएका अव्वस्थित, अनधिकृत तथा असुरक्षित तवरले राखिएका तारहरुले गर्दा शहरको सौन्दर्यमा प्रतिकुल असर गरेको छ । साथै आगलागी, विद्युतीय झट्का सडकमा हिँड्ने पैदल यात्रु तथा सवारी साधनको दुर्घटनाको कारण बनिरहेको छ ।’

उल्लेखित समय सिमाभित्र अव्यवस्थित, अनधिकृत तथा अपरिचित रुपमा रहेका केबल तार लाई व्वस्थित नबनाएमा सम्बन्धित निकायबाट केबल तार हटाँउदा पर्न जाने सम्पूर्ण दायित्व सम्बन्धित सेवा प्रदायकले नै बहन गर्नुपर्ने तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement