उद्यमशीलता सम्मेलनको तयारी पूरा

confederation-of-nepalese-industries-cni

काठमाडौं । सरकारसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आगामी बिहीबार राजधानीमा आयोजना गर्ने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा गरेको छ ।

परिसङ्घले आज पत्रकार सम्मेलन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मेलनको शुभारम्भ हुने तथा विशेष वक्ताका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई सम्बोधन गर्ने कार्यक्रम निर्धारण भएको बताएको छ ।

सातवटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीले आ–आफ्ना प्रदेशका उद्यम–व्यवसायका सम्भावना र योजना अनि केन्द्रीय अर्थमन्त्रीले देशको अर्थतन्त्र उन्नयनका निम्ति भएका नीतिगत व्यवस्थाबारे सम्मेलनमा जानकारी दिने परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले बताए।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको सम्बोधनबाट समापन हुने सम्मेलनमा वरिष्ठ सरकारी अधिकारी, नीति निर्माता, कूटनीतिक नियोग, नेपालको विकासका साझेदारलगायत चारसय जनाभन्दा बढीले सभागिता सुनिश्चित भएको उनले बताए ।