नेपालका पब्लिक लिमिटेड कम्पनीले विदेशी पूँजी बजारमा धितोपत्र जारी गर्न पाउने

Advertisement

काठमाडौं । नेपालका पब्लिक लिमिटेड कम्पनीहरुले विदेशी मुलुकको पूँजी बजारमा धितोपत्र जारी गरी ऋण लिन वा विदेशी मुद्रा प्राप्त गर्न सक्ने भएका छन् । सरकारले संसदमा दर्ता गराएको विदेशी लगानी तथा प्रविधी हस्तान्तरण विधेयक, २०७५ मा उक्त व्यवस्था गरिएको छ ।

प्रस्तावित विद्येकमा नेपालमा स्थापना भएका कुनै पनि पब्लिक लिमिटेड कम्पनीहरु वा धितोपत्र जारी गर्न प्रचलित कानून अनुसार अख्तियारी पाएका संगठित संस्थाले नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको स्वीकृति लिई विदेशी मुलुकको पूँजी बजारमा ऋणपत्र, डिवेञ्चर वा अन्य धितोपत्र जारी गरी विदेशी मुद्रा भित्र्याउन सक्ने व्यवस्था गरिएको छ । धितोपत्र जारी गरिएको ऋण वा विदेशी मुद्रा नेपालमै लगानी गर्नुपर्नेछ ।

उक्त विधेयक संसदबाट पास भएको खण्डमा नेपालमा भएका पब्लिक कम्पनीहरुले विदेशी मुलुकको पूँजी बजारमा ऋणपत्र डिवेन्चर वा अन्य धितोपत्र जारी गर्न बाटो खुल्ला हुने धितोपत्र बोर्डले बताएको छ ।

यस विधेयक संसदबाट पास भए पछि पूँजी बजारमा विदेशी लगानी ल्याउने एउटा बाटो खुल्ला हुने र नेपाली कम्पनीहरुले लागत पूँजी विदेशी मुलुकबाट उठाउन सक्ने र विदेशी मुलुकको पूँजी नेपालको पूँजीबजारमा आउने वातावरण सिर्जना हुने बोर्डको भनाई छ ।

साथै, उक्त बिधेयक अनुसार विदेशी लगानीमा नेपालमा स्थापना भएका कम्पनीहरुले समेत नेपालीको प्रचलित कानूनको अधिनमा रहि नेपालमा धितोपत्र जारी गरी ऋण लिन सक्ने व्यवस्था गरेको छ । यद्यपी उक्त धितोपत्र जारी गरी प्राप्त भएको पूँजी भने नेपालमा नै लगानी गर्नुपर्ने प्रावधान राखिएको छ । यदि त्यसो हुन सकेको खण्डमा नेपालको पूँजी बजारमा पूँजीगत लगानी बढ्ने सम्भवना मज्बुद बन्ने छ भने पूँजी बजारको आकार पनि फराकिलो हुने देखिन्छ ।

अहिले सरकार लगानी सम्मेलनको तयारीमा लागेको छ । सरकारले नेपालको पूँजीबजार र उद्योगहरु व्यापारमा धेरै भन्दा धेरै विदेशी लगानी भित्राउने लक्ष्य पनि राखेको छ । जसका कारण पछिल्लो समयमा सरकारले असहज कानुनी प्रावधानका कारण विदेशी लगानी भित्र्याउन समस्या भएकाले नँया कानुनको निर्माण र पुरानालाई संशोधन गर्ने क्रमलाई तिब्रता दिँदै गएको पाईएको छ ।

Advertisement

Advertisement

Advertisement