गुराँस लघुवित्तको आईपीओ आजबाट खुल्यो, एक हजारमै आवेदन दिन सकिने

Advertisement

काठमाडौं । गुराँस लघुवित्तले आईपीओ आज सोमबारबाट सर्वसाधारणको लागि साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ। लघुवित्तले २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ निष्काशनमा ल्याएको हो ।

कुल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएर बाँकी रहेको २ लाख ३३ हजार ६२५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । यो आइपीओमा वैशाख २० गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ १४ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५०० कित्ता सम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजीको ३२.२६ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।

लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपियाँ रहेको छ भने संस्थापक समूहबाट ५ करोड २५ लाख रुपियाँ चुक्ता भैसकेको छ । लघुवित्तको आईपिओलाई क्रेडिट रेटिङ्ग भने गराएको छैन् । ३ करोड भन्दा कमको सार्वजनिक निष्काशन भएकोले क्रेडिट रेटिङ्ग गर्नुपर्ने बाध्यात्मक व्यवस्था नभएकोले क्रेडिट रेटिङ्ग नगराएको लघुवित्तले जनाएको छ ।

गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले ६९ लाख ७ हजार रुपियाँ खुद नाफा आर्जन गरेर वार्षिक १७ रुपियाँ ५४ पैसा प्रतिशेयर आम्दानी कायम गरेको छ।

गुराँसको आर्थिक वर्ष ७४–७५ मा प्रतिसेयर नेटवर्थ ९२.७२ रुपियाँ छ । आर्थिक वर्ष २०७५–७६ मा प्रतिसेयर नेटवर्थ ११० रुपियाँ ६५ पैसा पुग्ने प्रक्षेपण छ । यसैगरी, आर्थिक वर्ष २०७६/७७ र ७७/७८ मा प्रतिसेयर नेटवर्थ क्रमशः १३६ रुपियाँ २६ पैसा र १६८ रुपियाँ ३६ पैसा पुग्ने विश्लेषण गरिएको छ ।

लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । २२ वटा शाखा कार्यालय रहेको लघुवित्तले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement