राष्ट्रपतिले ‘मेरो सरकार’ भन्न मिल्छ, मिल्ने भएरै भन्या होः ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रमले मुलुकलाई न्यायसहितको समृद्धिको यात्रामा अघि बढाउने जिकिर गरेका छन् । । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई शनिबार उनले नीति तथा कार्यक्रममा समाजवादोन्मुख भएकाले देशलाई समृद्धिको यात्रामा डोर्याउने दावी गरे ।

ओलीले भने, “संविधानमा नै समाजवादोन्मुख भनेर लेखिएकाले नीति तथा कार्यक्रम पनि समाजवादोन्मुख रहेको छ, शुक्रबार सङ्घीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको कार्यक्रमले सरकार मुलुकमा विकास र सुशासन कायम गर्ने मार्गमा अगाडि बढेको स्पष्ट छ ।”

सरकार र पार्टीको उद्देश्य मुलुकलाई समाजवादको गन्तव्यतर्फ उन्मुख गर्ने भएको बताउँदै उनले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमले मुलुकको विकासका आधार तयार गर्ने बताए । ओलीले प्रतिपक्षले कुनै पनि आलोचना गर्ने खालका नभई सबैलाई समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको तर्क गरे । ओलीले भने, “हामीले नीति तथा कार्यक्रममा समावेश गरिएका योजना तयार गर्दा कहीँकतै पनि चुकेका छैनौँ, विपक्षीलाई औंला ठड्याउने ठाउँ छैन ।”

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा समावेश गरिएका विषय सत्तापक्षले कुनै प्रतिवाद र प्रतिपक्षले पनि विरोध गर्न नपर्ने गरी ल्याइएको जिकिर गरे । समावेश भएका कार्यक्रम नराम्रो नभएकाले प्रतिपक्ष दलले विरोध गरे पनि प्रतिरक्षा गर्न सजिलो भएको बताउँदै उनले सांसदहरुलाई नीति तथा कार्यक्रमको पक्षमा दृढतापूर्वक उभिन निर्देशन दिए ।

उनले नीति तथा कार्यक्रममा ल्याएका कुरामा अलमल गर्ने ठाउँ नभएकाले सांसदलाई राम्रोसँग पढेर आलोचनाको खण्डन गर्नसमेत आग्रह गरे । ओलीले भने, “नीति तथा कार्यक्रम जति राम्रै भए पनि प्रतिपक्षले विरोध गर्दछन्, तर अहिलेको सरकारको कार्यक्रम नराम्रो छैन । प्रतिपक्षसँग प्रतिकार गर्न पनि सजिलो छ । ढुक्कले प्रतिकार गर्दै कार्यक्रमको पक्षपोषण गर्नुहोस् ।”

प्रधानमन्त्री ओलीले सांसदलाई काम गर्न सजिलो हुने गरी नीति तथा कार्यक्रमअनुसार बजेट विनियोजन गरिने बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको संरचनाका माथिल्लो तहमा बसेको जनप्रतिनिधि रहेकाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रममा सरकारलाई मेरो सरकार भन्न पाउने बताए ।

ओलीले भने, “राष्ट्रपतिले आफ्नो देशलाई मेरो देश र आफ्नो सरकारलाई मेरो सरकार भन्न सक्नुहुन्छ, जुनसुकै दलको सरकारलाई पनि मेरो सरकार भन्न उहाँले पाउनुहुन्छ । त्यहीअनुसार राष्ट्रपति भण्डारीले अहिलेको सरकारलाई मेरो सरकार भन्नुभएको हो ।”

उनले भुलचुक, दम्भ र अहंकारले नभएर वास्तविक रूपमा राष्ट्रपतिले मेरो सरकार भनेको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा कुनै पनि संशोधन नभई जस्ताको तस्तै पारितसमेत हुने जिकिर गरे । उनले आफूले अपेक्षा गरेअनुसार विकासले गति नलिए पनि अभूतपूर्व तवरले विकासका काम अगाडि बढेको उल्लेख गरे । सरकारी सम्पत्ति छानबिन गरेर सरकारको मातहतमा ल्याउने प्रयास जारी रहेको जानकारी दिँदै ओलीले भ्रष्टाचारी, तस्करी र कालोबजारी नियन्त्रण गर्ने बताए ।

सरकारले मुलुकको विकासका लागि गरेन भन्ने ठाउँ नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पूँजीगत खर्च गर्नेतर्फ केही कमजोरी भए पनि अन्यमा भने सफलता प्राप्त गरिएको बताए । ओलीले भने, “पूँजीजगत खर्च गर्नेमा हाम्रो केही कमजोरी रह्यो । यसपटक आन्तरिक ऋण उठाएर प्रशासनिक खर्च गर्नुपरेको छैन”, उहाँले भन्नुभयो, “पूँजीगत खर्च गर्ने क्षमता विकास गर्न जरुरी छ ।”

उनले आगामी २० महीनाभित्र पुरातत्वको संरचनाबाहेक सबै पुनःनिर्माणको काम सकिने जानकारी गराए । ओलीले भने, “आजदेखि बारा, पर्साका बाढीपीडितका लागि १२ ठाउँका एकै साथ पुनःनिर्माणको काम शुरु गरेका छौँ, बर्खायाम अगावै सबै घर पुनःनिर्माण गरिने छ ।” दुई ठूला कम्युनिष्ट मिलेर दुईतिहाइको सरकार गठन गरेर मुलुकलाई स्थायित्वतर्फ अगाडि बढाएको भन्दै उनले सरकार मानवअधिकारप्रति प्रतिबद्ध रहेको दावी गरे ।

Advertisement

Advertisement

Advertisement