होटल याक एण्ड यतिमा नेटवर्किङको अवैध व्यवसाय, १२ जना भारतीय पक्राउ

Advertisement

काठमाडौं । पाँचतारे होटल याक एण्ड यतिमा बसेर नेटवर्किङ व्यवसाय गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै भारतीय हुन् । साइन ग्रुपको नामबाट नेपालमा नेटवर्किङ व्यवसाय थाल्न तालिम सञ्चालिन गरिरहेको बेला उनीहरुलाई पक्राउ गरिएको हो ।

नेटवर्किङको धन्दाका लागि तालिम भइरहेको सुचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, काठमाडौं प्रहरी परिसर र नेपाल राष्ट्र बैंकको टोली होटल पुगेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने साइन ग्रुपका प्रमुख रसिद नसिमसहित १२ जना छन् । उनीहरुसँग सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आफ्नो व्यवसायको मुख्य कार्यालय दुवईमा र शाखा कार्यालय लखनउमा रहेको भन्दै उनीहरुले नेपाली र भारतीयलाई जम्मा गरेर व्यवसायसम्वन्धी तालिम दिइरहेको थियो । यस नेटवर्किङ व्यवसायमा आवद्ध हुनेले एक हजार दुई सय ५० रुपियाँ तिर्नुपर्ने र कम्पनीले त्यतिनै रकम जम्मा गरिदिने, त्यसरी आवद्ध भइसकेपछि अरुलाई पनि क्रमसः सदस्य बनाउँदै जाने, त्यसरी सदस्य बनाएवापत कमिशनसमेत प्राप्त हुने सिस्टम बनाइएको खुलेको छ । यसअघि पनि नेपालमा यस खालका नेटवर्किङ व्यवसायमा हजारौं मानिस गठिएको उदाहरण छन् ।

लाखौं रुपियाँ तिरेर पाँच तारे होटलमा बस्दै र तालिम दिँदै आएको साइन ग्रुपका मानिसहरुले अनुमति बिना प्रतिवन्धित नेटवर्किङ व्यवसाय सुरु गरेको र विदेशी कम्पनीमा नेपाली पैसा लगानी गराउने काम गरेको प्रहरीको भनाई छ । उनीहरुबाट प्रहरीले ल्यापटप, आफ्नो नेटवर्किङ व्यवसायबारेको अडियो भिडियो सामग्रीहरु बरामद गरेको छ ।

Advertisement

Advertisement

Advertisement