शालिनको शंकास्पद मृत्यु प्रकरणः जनदबाबपछि वार्डेन, प्रिन्सिपलसहित तीन जना पक्राउ

Advertisement

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया बालिका शालिन पोखरेलको शंकास्पद मृत्युपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा भेटिएकी उनको मृत्यु आत्महत्या नभई बलात्कारपछि हत्या भएको कुरा सार्वजनिक भएसँगै घटनाको छानविन गरी दोषीहरुलाई कडा कारवाही गर्न जनदबाब निकै बढेको थियो । दबाबपछि प्रहरीले स्कुलका प्रिन्सिपल (प्रधानाध्यापक) ६० बर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० बर्षीय किरण अधिकारी र वार्डेन ४८ बर्षीय कमल पौडेललाई पक्राउ गरेको हो । 

Advertisement

शालिन पोखरेल आफू बस्ने कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । उनका परिवारले हत्या भएको दाबी गरे पनि स्कुल व्यवस्थापन, चितवनका निजी विद्यालय सञ्चालक र प्रहरीले भने हत्या नभई आत्महत्या भएको दावी गर्दै आएका थिए । 

बालिकाका बाबुले चितवनमा पोस्टमार्टम गर्दा चलखेल हुनसक्ने र गलत रिपोर्ट निकाल्नसक्ने आशंका गर्दै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर परीक्षण गर्दा शालिनको बलात्कारपछि हत्या भएको देखिएको थियो । पीडित पक्षले पटक पटक किटानी जाहेरी दिनखोज्दा प्रहरीले नलिएको, किटानी गरिएका व्यक्तिको नाम हटाउन दबाब दिएको, मृतक बालिकाका काकालाई यातना दिएर थुनामा राखेको बताउँदै आएको थियो । 

शालिनको मृत्यु प्रकरणले सामाजिक सञ्जालमार्फत घटनाको छानविन र दोषीमाथिकारवाही गर्न सरकारलाई चर्को दबाब परेको थियो । यो घटना पनि निर्मला पन्तको जस्तो दोषी पत्ता नलाग्ने अवस्था आउनसक्ने धेरैको चिन्ता रहँदै आएको छ । प्रहरीले अनुसन्धानका लागि तीन जनालाई हिरासतमा लिएको बताएको छ । 

शालिन पोखरेल गत फागुन १२ मा पंखामा स्काउटको डोरीले झुन्डिएको अवस्थामा बालिका मृत भेटिएकी थिइन् । घुँडा टेकिएको अवस्थामा मृत भेटिएकी उनको हत्या भएको भन्दै पीडित परिवारले न्यायको माग गर्दै आएको छ । गोरखा अजिरकोट गाउँपालिका– ५ स्थायी घर भएका पीडित परिवारले छोरीलाई चितवनको विद्यालयमा छात्रावासमा राखेर पढाउँदै आएको थियो । 

मृतक बालिकाका आमा र बुबाबीच दश वर्षअघि नै सम्बन्धविच्छेद भएको, बुबा काठमाडौंमा बस्दै आएको र आमा वैदेशिक रोजगारीका लागि दुबई रहेको, आमाको संरक्षणमा रहने गरी अदालतले सम्बन्धविच्छेदको फैसला गरेका कारण शालिन आमाको संरक्षणमा मामाघरमार्फत छात्रावासमा बस्दै पढ्दै आएकी थिइन् । परिवार बलियो नभएको र पारिवारिक संरक्षण उचित नभएको देखेर उनीमाथि बलात्कार गरिएको हुनसक्ने  विश्लेषण गरिएको छ । 

Advertisement

Advertisement