शिक्षक भर्ना केन्द्रले नै, स्थानीय तहलाई शिक्षक भर्ना नगर्न मन्त्री पोखरेलको आग्रह

Advertisement

झापा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षक भर्तीको काम शिक्षा सेवा आयोगले मात्रै गर्ने बताएका छन् । बिर्तामोडमा आइतबार पत्रकार सम्मेलन गरी उनले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्ना गर्ने काम शिक्षक सेवा आयोग नै गर्ने बताएका हुन् ।

स्थानीय तहले स्वायत्तताको कुरा गर्दै शिक्षक भर्ती पनि आफूहरुले गर्न पाउनुपर्ने जिकिर गरेपनि मन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् । उनले गुणात्मक शिक्षाको लागि शिक्षक दरबन्दी अपुग रहेको स्थितिमा केन्द्र सरकारले आवश्यक निर्णय लिने तयारी गरेको र नयाँ शिक्षक भर्ती केन्द्र आयोगले विज्ञापन गर्ने बताए।

मन्त्री पोखरेलले स्थानीय तहले आफूखुशी शिक्षक भर्ना गर्न थाल्ने हो भने बेथिति सिर्जना हुने भन्दै शिक्षक सेवा आयोगले शिक्षक भर्ना गर्ने कुरा राष्ट्रिय शिक्षा नीतिमा समेटिएको र मन्पिरिषदमा नीति संशोधनका विषयमा छलफल चलिरहेकाले हतार नगर्न स्थानीय तहलाई आग्रह गरे ।

पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ का आधारमा राष्ट्रिय शिक्षा नीति तर्जुमा गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको जानकारी दिँदै नीति आएपछि संघीय शिक्षा ऐन तर्जुमा गरिने बताए । उनले नीतिका आधारमा दुईवटा छुट्टा छुट्टै मुल विधेयकको तयारी गरिरहेको समेत जानकारी दिए। विधेयक र नीतिले शिक्षक भर्ना, विद्यालय सुधार र सञ्चालकको धेरै विषयलाई समेट्ने पोखरेलले बताए ।

Advertisement

Advertisement

Advertisement