नेपालमा वीच्याट र अलि पे प्रतिबन्ध

Advertisement

काठमाडौँ । अब ग्राहकले नेपालमा विच्याट पे, अलि पे जस्ता एपबाट भुक्तानी गर्न नपाउने भएका छन् । नेपालमा दर्ता नभएका यस्ता एपमार्फत कारोबार बढ्दै गएपछि राष्ट्र बैंकले त्यसमा रोक लगाएको हो ।

राष्ट्र बैंकले सोमबार सूचना जारी गरी विच्याट पे, अलि पे जस्ता विदेशी मुलुकबाट जारी भएको भुक्तानी गेटवेमार्फतको कारोबारमा रोक लगाएको हो । ‘यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले यसरी कारोबार गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ,’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

पछिल्ला महिनामा काठमाडौंको ठमेल र पोखरामा सञ्चालित केही होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा विच्याट पे, अलिपेजस्ता एपमार्फत भुक्तानी कारोबार भइरहेको समाचार सार्वजनिक भएका थिए । यस्ता कारोबारका लागि नेपालमा कानुनी व्यवस्था छैन । यस्तो प्रणालीमार्फत के कति रकमको कारोबार भएको छ त्यसको तथ्यांक भने राष्ट्र बैंकसँग छैन ।

विच्याट पे, अलिपे चिनियाँ एप हुन् । यी एपले चीनमा विद्युतीय भुक्तानी सेवा पनि दिएका छन् । चीनमा यो प्रणालीमार्फतको विद्युतीय भुक्तानी निकै प्रभावकारी छ । सोही कारोबार नेपालमा पनि सुरु भएको हो । नेपाल आउने चिनियाँ पर्यटक । व्यवसायीले यहाँका धेरै भुक्तानी (खासगरी चिनियाँद्वारा सञ्चालित होटल तथा व्यवसाय) विच्याट पे, अलि पे एपमार्फत गर्दै आएका छन् ।

यसको अर्थ उनीहरूले नेपालमा रहेर भुक्तानी गरे पनि नेपालमा विदेशी मुद्रा आउन पाउँदैन । यस्तो कारोबारमा भुक्तानी गर्ने ग्राहकको चीनमा रहेको बैंक खाताबाट पैसा घट्छ र त्यो पैसा व्यवसायीको चीनमै रहेको बैंक खातामा जम्मा हुन्छ ।

यसकारण कारोबार नेपालमा भए पनि विच्याट पे, अलिपेमार्फत रकम प्राप्ति र भुक्तानी दुवै विदेशमा हुने भएकाले नेपाललाई बेफाइदा भएको विज्ञहरू बताउँछन् । यसकारण त्यस्ता कारोबारलाई नियन्त्रण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement