नौवस्तामा निर्माण हुने औद्योगिक क्षेत्र निर्माणको डीपीआर तयार

Advertisement

बाँके। वैजनाथ गाउँपालिकाको नौवस्तामा औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण र विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर)को काम सकिएपछि अहिले वातावरण प्रभाव मूल्याङ्कनको काम र कस्ता प्रकारका उद्योग आवश्यक हुने सम्बन्धमा समेत सर्वेक्षण भइरहेको जनाइएको छ ।

भौतिक संरचना निर्माणका लागि नक्साङ्कन र प्राविधिक पक्षका लागि कन्सल्टेन्टलाई जिम्मेवारी दिइएको छ भने उद्योग स्थापना गर्न चाहने यस क्षेत्रका उद्योगीसँग नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयले आशयपत्र माग गरेको छ । अहिलेसम्म झण्डै दुइ सय वटा आशयपत्र प्राप्त भएको कार्यालयले जनाएको छ ।

साथै, नैवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले अधिग्रहण गरेको जग्गामा बसोबास गरिरहेका दुइ ५८ परिवारले आफूहरुको वैकल्पिक व्यवस्था सरकारले गर्नुपर्ने माग गरेका छन् । करीब तिन सय ३८ बिघा क्षेत्रफलमा स्थापना हुने औद्योगिक क्षेत्रमा नेपाल सरकारको योजनाअनुसार प्रत्यक्ष रोजगारको अवस्था सिर्जना हुने करीब दुइ सय ठूला र मझौला उद्योग स्थापना गरिने नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement