आउँदो बर्षका लागि १५,३२,९६,७१,००,००० को बजेट, पुँजीगततर्फ चार खर्ब आठ अर्ब

Advertisement

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्ष २०७६।७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदको संयुक्त बैठकमा बुधबार आयव्यय विवरण प्रस्तुत गर्दै चालुतर्फ नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२।. प्रतिशत, पुँजीगततर्फ चार खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीय व्यवस्थानतर्फ एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपियाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

उक्त बजेटको लागि राजस्वबाट नौ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपियाँ स्रोत जुटाइने अर्थमन्त्री खतिवडाले बताए । अपुग चार खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख रुपियाँमध्ये वैदेशिक ऋणबाट दुई खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख रुपियाँ र आन्तरिक ऋणबाट एक खर्ब ९५ अर्ब रुपियाँ पूर्ति गरिने सरकारको योजना छ ।

खतिवडाले चालु आर्थिक वर्ष २०७५।७६ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत गरेका थिए । चालु बजेटमा साधारण खर्चका लागि आठ खर्ब, पुँजीगतर्फ तीन खर्ब तथा वित्तीय व्यवस्थातर्फ एक खर्बसहित १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत गरिएको थियो ।

कर्मचारीको तलवदेखि वृद्धभत्ता र साँसदहरुले खर्च गर्न पाउने रकममा समेत उल्लेख्य वृद्धि गरेको सरकारले शिक्षामा एक खर्ब ६३ अर्ब रुपियाँ, स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपियाँ, पुनर्निर्माणमा एक खर्ब ४१ अर्ब रुपियाँ रकम विनियोजन गरिएको छ । त्यस्तै, खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि पाँच अर्ब एक करोड, श्रम तथा रोजगार क्षेत्रका लागि सात अर्ब १४ करोड, सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब ५० करोड विनियोजन गरेको छ ।

यसैगरी, कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ३४ अर्ब ८० करोड, महिला वालिका तथा ज्येष्ठ नागरिकका लागि ७८ करोड, सिँचाइ क्षेत्रका लागि २३ अर्ब ६३ करोड, वन तथा वातावरण क्षेत्रका लागि १५ अर्ब ४९ करोड रुपैयाँ, भूमिसुधार तथा सहकारी सात अर्ब ६९ करोड, पर्यटन क्षेत्रका लागि २२ अर्ब ६८ करोड रुपियाँ, औद्योगिक पूर्वाधार विकासका लागि दुई अर्ब ८७ करोड, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अर्ब ७४ करोड, ऊर्जा क्षेत्रका लागि ८९ अर्ब ८३ करोड, यातायात पूर्वाधार क्षेत्रका लागि एक खर्ब ६३ अर्ब, हवाइ क्षेत्रका लागि १५ अर्ब ८५ करोड रुपियाँ, यातायात व्यवस्थापनका लागि एक अर्ब ५३ करोड, युवा तथा खेलकुदका लागि तीन अर्ब ९९ करोड रुपियाँ विनियोजन गरिएको छ ।

Advertisement

Advertisement