सेयर बजारमा सुधार अझै आएन, विवादमा परेको तारागाउँको सेयरमा उच्च गिरावट

Advertisement

काठमाडौं । सेयर बजारमा गिरावट सोमबार पनि जारी रह्यो । आज सेयर बजार परिसुचक नेप्से आठ दशमलव ७८ अंकले घटेर एक हजार २७५ दशमलव ८२ कायम भयो भने १७३ कम्पनीको ६१ करोड रुपियाँको सेयर किनबेच भयो ।

आज धेरै सेयर कारोबार गर्नेमा एनआईसी एसिया बैंक अगाडि रह्यो भने दोस्रोमा शिवम सिमेन्ट्स रह्यो । एनआइसी एसियाको चार करोड १८ लाख रुपियाँको कारोबार छ भने शिवमको तीन करोड ९० लाख रुपियाँको कारोबार छ ।

नाफा राम्रो गर्नेमा वल्ड मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडका लगानीकर्ता रहेका छन् । हायात होटल सञ्चालन गर्दै आएको यस कम्पनीका सञ्चालनहरुले बदनियतपूर्ण तरिकाले सरकारी जग्गा हडपेको भन्दै विवादमा परेका छन् । अहिले उनीहरुमाथि सरकारले छानविन गरिरहेको छ ।

समूहगत कारोबारतर्फ अधिकांश समूहका सुचकहरुमा गिरावट भएको छ । निर्जीवन बीमा समूहमा सबैभन्दा बढि दुई दशमलव २१ प्रतिशतको गिरावट छ भने वित्त, जलविद्युत र होटल समूहमा एक प्रतिशतभन्दा बढिको गिरावट छ । विकास बैंक, उत्पादनमूलक र म्युचुअल फण्ड समूहमा भने सामान्य सुधार देखिन्छ ।

सेयर बजार सुधारका लागि सरकार र नियामकहरुबाट नीतिगत सुधारका कामहरु पटक पटक भए पनि बजारमा सुधार आउन सकेको छैन् । यसको मुख्य कारण बजारमा मागभन्दा आपूर्ति बढि हुनु र बैंकहरुको ब्याजदरमा कमी आउन नसक्नु भएको विश्लेषकहरुको भनाई छ ।

Advertisement

Advertisement

Advertisement