ठूला उद्योगीमा मात्र भिसीटिएस लागू गर्न माग

Advertisement

सप्तरी । सप्तरीका उद्योगी व्यवसायीहरुले सरकारले मालवाहक सवारीसाधनलाई विद्युतीय माध्यमबाट ट्र्याकिङ गर्ने गरी ल्याएको भेइकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसीटिएस) ठूला उद्योगीहरुमा मात्र लागू गर्नुपर्ने माग गरेका छन् ।

सप्तरी उद्योग वाणिज्य सङ्घले बिहीबार सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मझौला तथा साना उद्योगी व्यवसायीका हकमा भिसीटिएस खारेज गरी ठूला उद्योगीहरुमा मात्र लागू गर्नुपर्ने माग गरेका छन्।

व्यवसायीले नयाँ प्रणालीबारे जानकार नभएको, कम्प्युटर र अनलाइनबारे व्यवसायीहरु असक्षम रहेको र इन्टरनेटको पहुँच सबै ठाउँमा नभएकाले तत्काल यो प्रणाली कार्यान्वयन नगरी विस्तारै गर्नुपर्ने बताए । व्यवसायीहरुले प्रणाली राम्रो भए पनि प्रणालीसम्बन्धी ज्ञान धेरैलाई नभएको र धेरै व्यवसायीले प्रणाली सञ्चालन गर्नै नजान्ने भएकाले कार्यान्वयन गर्न नसकिने बताए ।

मालसामान ओसारपसार गर्न भिसीटिएस लागू गर्ने व्यवस्थाले अतिरिक्त व्ययभार थपिनुका साथै साना तथा मझौला उद्योगी, व्यवसायीहरु इन्टरनेट, अनलाइनमा असक्षमसमेत रहेकाले भन्सारबाट प्रज्ञापनपत्र लिएका वस्तु र ठूला उद्योगीहरुमा मात्र यो प्रणाली लागू गर्नपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

यसैगरी श्रमिकसँग समन्वय गरी व्यवसाय सञ्चालन गर्न कठिनाइ हुने भएकाले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्न कठिनाइ हुने उद्योगीहरुको माग छ । भारतीय श्रमिकको ठूलो उपस्थिति रहेकाले स्थायी लेखा नम्बर नभएका कामदार वा कर्मचारीलाई वितरण गरेको पारिश्रमिक तथा ज्याला खर्च लेख्न नमिल्ने भनी गरिएको व्यवस्था अव्यवहारिक रहेको सङ्घका अध्यक्ष अरुणकुमार प्रधानले बताए । स्थायी र नियमितरूपमा बाह्रै महीना काम गर्ने कामदारमा स्थायी लेखा नम्बर लागू गर्न सकिने तर ज्यालादारी र मौसमी श्रमिकको हकमा नियम लागू गर्न समस्या हुने उनले बताए ।

उता भन्सार विन्दुबाट स्थानीयस्तरमा हुने थोक बिक्रेतासम्मको ढुवानीलाई नियमन गर्न र पारदर्शिता कायम गर्न भिसीटिएस कार्यान्वयनमा ल्याएको सरकारले बताएको छ । बिक्री, ढुवानी र खरीद हुने सामानको परिमाणसहितको विवरण, प्यान नम्बर, चालकको नाम र फोन नम्बर प्रणालीमा प्रविष्ट गर्दै विद्युतीय लक गरेर ‘क्युआर कोड’मार्फत नै स्क्यान गरी लक खोलेर सामान बुझ्नेले सोही जानकारी प्रणालीमा प्रविष्ट गराउने व्यवस्थाले पारदर्शिता र नियमन सहज हुनेछ ।

भिसीटिएस कार्यान्वयनमा आएपछि सडकमा रहेका ढाटहरुमा सामानको विवरण बुझाउँदै हिँड्नुपर्ने झन्झट नरहने राजश्व अनुसन्धान विभागको भनाइ छ । विभागका अनुसार एउटै कागजपत्रबाट धेरैपटक समान ओसारपसार गर्ने, एउटा कागजात बनाएर अर्को सामान बोक्ने, परिमाणमा फरक गर्ने परिपाटी अन्त्य गर्न खोजिएको हो ।

तत्काल ठूला व्यवसायीमा मात्र प्रणाली लागू गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाउन गएका व्यवसायीहरुले सरकारले यो प्रणाली तत्काल पूर्णरूपमा कार्यान्वयन नगरी विस्तारै गर्नुपर्ने बताए । यो व्यवस्था हाल परीक्षणका रूपमा मात्रै कार्यान्वयन गर्नुपर्ने र ठूला व्यवसायीबाट शुरु गर्नुपर्ने सङ्घका सचिव अनन्त साहले बताए ।

Advertisement

Advertisement

Advertisement