सेयर बजारमा सुधार निरन्तर, मौद्रिक नीतिप्रति सकारात्मक अपेक्षा

Advertisement

काठमाडौं । सेयर बजारमा पछिल्ला दिनमा देखिएको सुधार बुधबार पनि कायमै रह्यो । आज सेयर बजार परिसुचक नेप्से छ दशमलव ९० अंकले बढेर एक हजार २८४ कायम भयो भने कारोबार रकममा पनि सुधार आई ४४ करोड ३४ लाख रुपियाँको कारोबार भयो ।

सेयरको पुँजीगत लाभ कर विवादमा सरकारी पक्षले समाधानको सकारात्मक संकेत दिएसँगै बजारमा सकारात्मक प्रभाव देखिएको छ । त्यसमाथि नेपाल राष्ट्र बैंकले बुधबार अपरान्ह जारी गर्न लागेको मौद्रिक नीतिप्रति धेरैको सकारात्मक अपेक्षा पनि देखिन्छ । अर्थ मन्त्रालयले सेयरको लाभकर गणनाका लागि लचक हुने सन्देश दिएको छ ।

आजको कारोबारमा अधिकांश समूहका सुचकहरुमा सुधार देखिएको छ । बाणिज्य बैंक समूहको सुचक शुन्य दशमलव ५४ प्रतिशतले बढेको छ भने होटल समूहको सुचक झण्डै दुई प्रतिशतले बढेको छ । लघुवित्त र निर्जीवन बीमा समूहका सुचकहरु एक प्रतिशतभन्दा बढिले उक्लिएका छन् ।

आज धेरै कारोबार गर्नेमा नेपाल बैंक अगाडि छ भने दोस्रोमा कृषि विकास बैंक छ । नेपाल बैंकको सेयर झण्डै चार करोडको खरिद बिक्री भएको छ । नाफा धेरै गर्नेमा गणपति माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा युनियन हाइड्रोपावरका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement