मन्त्रालयका सचिवसँग अर्थमन्त्रीले लिन थाले बजेट कार्यान्वयन तयारीको (ब्रिफिङ)

Advertisement

काठमाडौं । गत आर्थिक वर्षमा लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेको सरकारले यो वर्ष सुरुदेखि नै काम अघि बढाएको छ। बजेटमा समावेश भएका कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि हरेक मन्त्रालयले कार्ययोजना तयार गरेका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रत्येक मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरुसँग बजेट कार्यान्वन्यनका लागि तयार गरिएको कार्ययोजनामाथि छलफल थालेका छन्। मन्त्री खतिवडाले  सामाजिक क्षेत्रसँग सम्बन्धित मन्त्रालयका सचिव एवं सहसचिवहरुसँग बजेट कार्यान्वयनका लागि गर्नुपर्ने सहजीकरण र उनीहरुले गरेको तयारीबारे ब्रिफिङ लिएका छन्।

बजेटमा समावेश भएका प्रत्येक कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले तयारी अघि बढाएको छ, त्यसका लागि विकास निर्माण र सामाजिक क्षेत्रसँग जोडिएका मन्त्रालयका प्रतिनिधिसँग छलफल अघि बढाइएको हो, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले भने, हरेक मन्त्रालयले गरेक तयारी र बजेटमा समावेश भएका कार्यक्रमको पूर्ण कार्यान्वयनमा अर्थ मन्त्रालयको सहजीकरण कसरी हुनसक्छ भन्ने विषयमा छलफल भइरहेको छ।

बजेट कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले कार्ययोजना नै तयार गरेको छ। तिनै कार्ययोजनाअनुसार उपलब्धि हासिल हुने गरी काम अघि बढाउन अर्थ मन्त्रालयले अग्रसरता लिएको हो। सोमबार पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरुको छलफल हुँदैछ, खत्रीले भने।

सरकारले चालू आर्थिक वर्षमा ४ खर्ब ८ अर्ब रुपियाँ पुँजीगत बजेट विनियोजन गरेको छ। गत आर्थिक वर्षको सुरुवाती विनियोजन ३ खर्ब १३ अर्ब रुपियाँको तुलनामा ३० प्रतिशतले पुँजीगत खर्चको आकार बढाइएकाले सुरुदेखि नै खर्च बढाउनुपर्ने दबाबमा अर्थमन्त्री खतिवडा छन्। त्यसैका लागि उनले सुरुदेखि नै छलफल अघि बढाएका हुन्।

८० प्रतिशतभन्दा माथि उपलब्ध हासिल गर्नुस्

अर्थमन्त्री खतिवडाले आफू मातहतका महाशाखा एवं विभागका प्रमुखहरुलाई तोकिएको वार्षिक लक्ष्यको कम्तीमा ८० प्रतिशतभन्दा धेरै उपलब्धि हुने गरी काम गर्न निर्देशन दिएका छन्। अर्थ मन्त्रालय अन्तर्गतका प्रथम श्रेणीका कर्मचारीको कार्यसम्पादन मूल्यांकन सम्झौता कार्यक्रममा खतिवडाले यस्तो निर्देशन दिएका हुन्।

बजेटमा उल्लेखित राजस्व र खर्चको लक्ष्य हासिल गर्न सबै तहका कर्मचारीलाई आफ्नो क्षेत्रबाट अधिकतम पहल गर्न पनि खतिवडाले निर्देशन दिएका छन्।

Advertisement

Advertisement

Advertisement