एक साताभित्रै काटिँदैछन् चक्रपथका २ हजार रुख , माघबाट कलंकी-धोबिखोलाको निर्माण

Advertisement

काठमाडौं । एक साताभित्रै चक्रपथको कलंकी–महाराजगञ्ज–धोवीखोला खण्डमा २०५७ वटा रुख काट्न सुरु हुने भएको छ । चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणी रिमालका अनुसार एकताभित्रै रुख काट्न सुरु हुने र माघदेखि चिनियाँ कम्पनीले निर्माण आरम्भ गर्ने बताए ।
चक्रपथ विस्तारका क्रममा सडकको मार्गाधिकार भित्र पर्ने २ हजार ५७ वटा रुखमा टाँचा लगाउन काम केहि समय अघि नै सम्पन्न भैसकेको थियो ।

चक्रपथ विस्तारको दोश्रो खण्डका रुपमा कलंकी देखि धोबिखोलासम्म ११.६ किलोमिटरको काम अघि बढाउन लागिएको हो । चक्रपथ भित्र १०६७ र चक्रपथ बाहिर ९९० वटा बिभिन्न जातका रुखमा काट्न लागेका हौं ।’, आयोजना प्रमुख रिमालले भने । तीन तिर हरियालीसहित निर्माण हुने सडकको दशैंसम्म डीपीआर तयार हुनेछ । सन २०२० अर्थात आगामी माघ महिनादेखि निर्माण व्यवसायी परिचालन गरेर निर्माण कार्य आरम्भ गर्ने कार्यतालिका निर्माण गरिएको पनि प्रमुख रिमालले जानकारी दिए । चीन सरकारको सहयोगमा विस्तार भैरहेको चक्रपथको ८ लेनको हुनेछ ।

सडकका दुबै किनारमा वृक्षारोपण गरि हरियाली बनाईनेछ भने बीच भागमा पनि मेडन राखेर विरुवा रोपिनेछ । कोटेश्वर–कलंकी खण्डमा देखिएका प्राविधिक त्रुटिलाई सच्याउँदै पर्याप्त मात्रामा आकाशे पुल, सोलार लाइट, ट्राफिक लाइट, फुटपाथ लगायतको व्यवस्था गरिनेछ ।

त्यसका लागि सबै प्रमुख चोकहरु सितापाइला, स्वयम्भु, वनस्थली, बालाजु, माछापोखरी, नयाँ बसपार्क, गोंगम्बु, सामाखुसी, र बसुन्धारा, महाराजगञ्ज, चप्पलकारखाना र सुकेधारामा आकाशे पुलको निर्माण गरिनेछ । कलंकी–कोटेश्वर खण्डको काम सम्पन्न भएलगत्तै चीनले कलंकी देखि महाराजगञ्जसम्मको ८.२ किलोमिटर चक्रपथ विस्तारको काम अघि बढाउँन लागेको थियो ।

अब भने यो खण्ड धोेवीखोलासम्म पुग्नेछ । ३ वर्षभित्र सक्ने लक्ष्य रहेको यो सडक खण्डको निर्माणका लागि ६ अर्ब लाग्ने अनुमान गरिएको छ ।
महाराजगञ्ज चोकका एक दर्जन घर भने भत्काइनेछन् । त्यहाँ चक्रपथ सडकको क्षेत्राधिकार भित्र ठुला ठुला घर निर्माण गरिएको छन् ।

Advertisement

Advertisement

Advertisement