कामदार पठाउने विषयमा रहेको अन्योलता हटाउने गरी मलेसिया र नेपालबीच सहमति

Advertisement

काठमाडौं । स्वास्थ्य परीक्षणको विषयलाई लिएर कामदार मलेसिया पठाउने विषयमा रहेको अन्योल हटाउने गरी दुवै देशबीच सहमति भएको छ । समस्या समाधानका लागि बनाइएको दुईपक्षीय कार्यदलले मलेसियामा तीन दिन छलफल गरेर सहमति निकालेको हो ।

सहमतिअनुसार यसअघि मलेसियाले मान्यता नदिएका ८६ वटा संस्थाहरुको निरीक्षण गर्न उ तयार भएको छ । यसअघि बायोमेडिकल प्रणालीमा समावेश भएका ३६ स्वास्थ्य संस्थामा मात्रै कामदारहरुले स्वास्थ्य परीक्षण गर्नुपर्ने मलेसियाको अडान रहेको थियो ।

नयाँ स्वास्थ्य संस्थाहरुको निरीक्षण गर्न आउँदो नोभेम्बरमा मलेसियाको टोली नेपाल आउने सहमति भएको विभिन्न सञ्चार माध्यमहरुले वार्तामा संलग्नहरुको भनाई उदृत गर्दै समाचार छापेका छन् । समाचारअनुसार दुई महिनाअघि मात्रै मलेसिया सरकारको वार्षिक निरीक्षणमा नयाँ स्वास्थ्य संस्थाहरु पास भइसकेकोले उनीहरुले समेत स्वास्थ्य परीक्षण गर्न पाउनेगरी निरीक्षणको तयारी गरिएको हो ।

मलेसिया कामदार पठाउन ढिलाई हुँदा यसअघि प्रक्रिया सुरु गरेका सयौंको विचल्ली भइरहेको थियो भने नयाँ प्रक्रिया पनि ठप्प भएको थियो । वैदेशिक रोजगार व्यवसायीहरुले पनि मलेसिया कामदार पठाउने विषयमा रहेको अन्योलता हटाउन सरकारलाई दबाब दिँदै आएका थिए ।

मलेसिया र नेपालबीच भएको वार्तामा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे नेतृथ्वको टोली । मलेसियाको मावन संशाधन नीति विभागकी प्रमुख बेट्टी हसन नेतृत्वको टोली सहभागी थिए । घिमिरे र हसन दुवैले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement