बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपाका सांसदलाई चार दिन हिरासतमा राख्न अदालतको आदेश

Advertisement

जनकपुर । जनकपुर विमानस्थल तोडफोडको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई चार दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

मंगलवार काठमाडौंबाट पक्राउ परेका सांसद साहलाई बुधवार जिल्ला अदालत धनुषामा पेश गरिएको थियो । अदालतले पक्राउ परेको दिनदेखि लागू हुनेगरी ४ दिन अर्थात् शुक्रवारसम्मको समय दिएको हो । पाँचौं दिन शनिवार परेकाले आइतवारसम्म सांसद साह हिरासतमै रहनुपर्ने सम्भावना देखिएको छ । प्रहरीले भने १० दिनको समय माग गरेको थियो ।

आइतवार अदालत खुलेपछि कि त कि अभियोग पत्र दायर गर्नुपर्ने कि त म्याद थपका लागि अदालतमा पेश गर्नुपर्ने जिल्ला अदालत धनुषाका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले लोकान्तरलाई जानकारी दिए ।

उडानमा ढिलाइ गरेको भन्दै सांसद साहले सोमवार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । सोही आरोपमा उनलाई मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ गरिएको थियो ।

अदालतमा पेश गर्ने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले आफूलाई न्यायपालिकामाथि पूर्ण विश्वास रहेको बताए । मैले जनताका लागि (तोडफोड) गरेको हो सांसद साहले भने अब अदातलले जे निर्णय गर्छ म त्यसलाई मान्छु । मलाई न्यायपालिकामाथि विश्वास छ ।

सांसद साह पक्राउको विरोधमा राजपा कार्यकर्ताले जनकपुरमा टायर बालेर प्रदर्शन र चक्काजाम समेत गरेका छन् । प्रदर्शनमा साहपत्नी समेत रहेकी प्रदेश सांसद नीरा साह, प्रदेश सांसदहरू परमेश्वर साह, सुरिता साह तथा जनकपुर उपमहानगरपालिकाकी उपमेयर रितादेवी मिश्र लगायत पनि सहभागी थिए ।

राजपा कार्यकर्ताले जनकपुरस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

Advertisement

Advertisement

Advertisement