सुनको मूल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ भने चाँदीको मूल्य भने घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ बढेर कारोबार भइरहँदा चाँदी भने प्रतितोला २० रुपियाँ घटेर किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको पहिलो दिन आइतबार प्रतितोला ५ सय रुपियाँ बढेको सुनको मूल्य सोमबार एकै दिन प्रतितोला १ हजार २ सय बढेको थियो भने हिजो पुनः प्रतितोला ७ सय रुपियाँ बढेर कारोबार भयो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय २५ रुपियाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ४५ रुपियाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्य निरन्तर उकालो लागिरहेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए ।

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार भने ठप्प भएको छ । “नेपाली बजारमा मुख्यतः कोरोनाको असरका कारण कारोबार शून्य भएको हो”, उनले भने । तत्काल सुनको मूल्य घट्ने सङ्केत आफूले नपाएको उनले बताए । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए । “अहिले सुन पसलले ‘बोहोनी’ पनि नभएको बताएका छन्”, अध्यक्ष सुनारले भने ।

Advertisement

Advertisement

Advertisement