काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले डेढ वर्षदेखि बन्द रहेको टेक अर पे खुलाउन ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनसँग माग गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् ।
१० वर्षदेखि १५ हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यसहित सोही आधारमा नदी प्रवाहमा आधारित (आरओआर)तर्फ ३५ प्रतिश तथा अन्य जलाशय, अर्धजलाशय र नवीकरणीय ऊर्जाको हिस्सा रहने उल्लेख गरी आरओआरतर्फ हिस्सा पुगेको भन्दै टेक अर पे पीपीए विद्युत्प प्राधिकरणले रोकेको छ । हाल टेक एण्ड पे (लिऊ र तिर) पीपीए गरिरहेको छ । मन्त्री पुनसँग सो हटाउन माग गरेपछि उनले सरकारको सो प्रावधानलाई पुनर्विचार गरेर तुरुन्तै बन्द टेक वा पे पीपीए खुलाउने बताए ।
इपानले कोरोनाको कारणले सर्भेक्षण लाइसेन्स नवीकरण गर्न आवेदन दिएकोमा लकडाउन खुलेलगत्तै ३५ दिनभित्र आवश्यक दस्तुर तिर्न विद्युत् विकास विभागले परिपत्र गरी दस्तुर नबुझाएमा खारेज गर्ने पत्र पठाएकोमा अहिले पनि कठिन अवस्था रहेको बताउँदै यसमा थप समय दिनमाग गरेका थिए । मन्त्री पुनले सँगै रहेका विद्युत् विकास विभागका महानिर्देशक नवीन सिंहलाई सोबारे पुनर्विचार गर्न निर्देशन दिएका थिए । पुनले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युत्मा लगानी गर्न स्वदेशी लगानीकर्तालाई आग्रह गरेका थिए । उनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले स्वागत, प्रोत्साहन र संरक्षण गर्ने बताउँदै विदेशी लगानीकर्तासँग काम गर्दा घरेलु लगानीकर्ताले दक्षता वृद्धि, प्रविधि र अनुभव तथा व्यापारिक ज्ञान हासिल गर्न सक्ने बताए ।
कारोबार दैनिकबाट ।