दुई दिन विदा दिने तयारीः के भन्छन् उद्योगी व्यवसायी ?

Advertisement

काठमाडौं । ‘त्यसै त देशको अर्थतन्त्र कोल्याप्स हुन लागिसक्यो, त्यसैमाथि हप्तामा दुई दिन विदा दिने कुरा भनेको मेरो विचारमा मौसममा नबजेको बाजा जस्तै हो । यस्तो कदम देशको समग्र अर्थतन्त्रको लागि अहितकर हुनेछ ।’, यो भनाई हो, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले भने । उनले मात्रै होइन, परिसंघका वर्तमान अध्यक्ष सतिश कुमार मोरले पनि हतारमा दुई दिन विदा दिने निर्णय गरिनु नहुने बताए । ‘अहिले त अध्ययन नै भैरहेको छ, कार्यविधि पनि बन्ला । उद्योगहरुमा कसरी लागु हुने ? कार्यालयहरुमा कसरी लागु हुने ? सरकारी कार्यालयमा कसरी लागु हुन्छ ?त्यो हेर्न बाँकी छ ।’

उनले पनि निजी क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा भने दुई दिन विदा लागु गर्न सम्भव नहुने तर्क गरे । ‘उद्योग क्षेत्रमा त यो लागु हुँदैन्, निजी क्षेत्रमा पनि लागु हुँदैन् । सरकारी कार्यालयमा कसरी लागु हुन्छ, हेर्नुपर्छ ।’, अध्यक्ष मोरले भने । उनले ‘गुड गभर्नेन्स’, ‘एकाउन्टेबिलिटी’को अभाव रहेको नेपालको सन्दर्भमा दुई दिन विदाले उल्टै समस्या ल्याउन सक्ने तर्फ पनि सचेत हुनुपर्ने उनले बताए । 

उनले दुई दिन सार्वजनिक विदा दिनेबारे विस्तृत अध्ययन हुनुपर्नेमा पनि जोड दिए । ‘अहिले कार्यदल बनेको छ, यसबारे विस्तृत अध्ययन गरिनुपर्छ, वृहद बहस गरिनु पर्छ ।’, परिसंघका अध्यक्ष मोरले कर्पाेरेट नेपालसँग भने ।

उता, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य प्रबलजंग पाण्डेले पनि दुई दिन सार्वजनिक विदा दिने विषयले आन्तरिक उत्पादकत्व घट्ने जोखिम औल्याएका छन् । 
सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले लेखेका छन्–‘दुई दिन बिदा दिएर आन्तरिक पर्यटन बढाउँदै गर्दा कतै आन्तरिक उत्पादकत्व त घट्ने हैन् ??’
महासंघकै अर्का केन्द्रिय सदस्य भरत आचार्यले पाण्डेको धारणामा प्रतिक्रिया दिँदै शुक्रबार पनि पुरै दिन काम गर्नुपर्ने निर्णयमा पुग्नुपर्ने बताएका छन् । ‘तत्काल आधार काम गर्ने शुक्रबारको दिनलाई पुरै काम गर्ने दिनमा बदल्नुपर्छ’

पर्यटन मन्त्री योगेश भट्टराईले आन्त्रिक पर्यटन प्रवद्र्धनका लागि सातामा दुई दिन सार्वजनिक विदा दिने प्रस्ताव अघि सारेका छन् । त्यसका लागि पर्यटन मन्त्रालयले एक अध्ययन कार्यदल नै गठन गरेको छ । सो कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्नेछ । यस अघि पनि २०५६ सालमा स्व. कृष्ण प्रसाद भटट्राई प्रधानमन्त्री हुँदा सातामा दुई दिन विदा दिने निर्णय गरिएको थियो । त्यसको केहि समयपछि नै त्यस्तो निर्णय फिर्ता गरिएको थियो । 
 

Advertisement

Advertisement

Advertisement