दुग्ध विकास संस्थानकै स्टोरमा ठूलो परिणाममा म्याद नाघेको बटर भेटियो

Advertisement

काठमाडौं । निजी क्षेत्रबाट उद्योगी व्यापारीले म्याद नाघेका अखाद्य वस्तु बेचेका समाचारहरु आइरहेको बेला सरकारी स्वामित्वकै दुग्ध विकास संस्थान (डीडीसी)को स्टोर (गोदाम)मा ठूलो परिणाममा म्याद नाघेको मख्खन (बटर) भेटिएको छ । 

सरकारी अनुगमन टोलीले नै मंगलबार बजार अनुगमनका क्रममा संस्थानको बालाजुस्थित दुग्ध वितरण आयोजनामा अनुगमन गर्दा साढे १६ करोड रुपियाँ मूल्य बराबरको म्याद नाघेको बटर फेला पारेको हो । उक्त बटरमा लेबल पनि नलगाएको भेटिएको छ । 

Advertisement

काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले संस्थानको स्टोरमा खान अयोग्य एक लाख ९४ हजार ९७५ किलो बटर भेटेपछि यस विषयमा थप छानविन सुरु गरिएको छ । संस्थानका अधिकारीहरुले भने लकडाउन र निषेधाज्ञाका कारण स्टोरमा धेरै समयदेखि बटर रहन गएको बताउँदै ८ महिनाभन्दा पूरानो हुँदा पनि खानयोग्य हुने दावी गरेका छन् ।  


महानगरपालिका हरिबहादुर भण्डारीका अनुसार निरीक्षण गर्दा अधिकाँश कार्टुनमा लेबल नै नरहेको, केहीमा लेबल भएपनि म्याद सकिइसकेको भेटिएको छ । मानव स्वास्थ्यमा गम्भीर असर गर्ने गुणस्तरहीन खाद्यवस्तु सरकारी संस्थानले नै बिक्री गर्ने कुरा गम्भीर भएको उपभोक्ता अधिकारकर्मीहरुको भनाई छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारी संस्थान भए पनि म्याद नाघेका वस्तु खुवाउनेलाई कारवाही हुनुपर्ने बताएका छन् । डीडीसीका उत्पादनहरुमा उपभोक्ताको विश्वास बढि रहेको बेला यस्ता घट्नाले विश्वास घट्दै जाने देखिएको छ । 

Advertisement

Advertisement