सनराइज बैंकमा फेरि बल्झियो सञ्चालक विवाद

Advertisement

काठमाडौं । सनराइज बैंकको सञ्चालक समिति विवाद पुनः बल्झिएको छ । सञ्चालकहरुबीच विवाद उत्पन्न भएपछि नेपाल राष्ट्र बैंकले उनीहरुलाई छलफलमा बोलाएर सम्झाएको छ । राष्ट्र बैंक नियामन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले सञ्चालक समितिलाई छलफलका लागि बोलाएको स्वीकार गरे । उनले अनावश्यक विवादमा नपर्न र मिलेर अघि बढ्न सुझाव दिएको जानकारी पनि दिए । 

स्रोतका अनुसार बैंकमा अध्यक्ष मोतिलाल दुगड र सञ्चालक बच्चराज तातेड समूहबीच विवाद उत्पन्न भएको हो । सञ्चालकहरुको नेतृत्वमा गठन हुने बिभिन्न कमिटिहरुको नेतृत्व गर्ने विषयमा विवाद उत्पन्न भएको हो । तातेडले लामो समयदेखि मानव संशाधन विभाग (एचाआर)को नेतृत्व गर्दै आएका थिए । उनले तेस्रो पटक सोही विभागको नेतृत्व गर्ने इच्छा राखेपछि पुनः विवाद उत्पन्न भएको हो । तातेड समूहले उनलाई नै एचआर कमिटिको जिम्मा दिनुपर्ने अडान राखेको छ भने अध्यक्ष मोतिलाल दुगड त्यसको विपक्षमा छ । तर, अध्यक्ष दुगड यतिबेला सञ्चालक समिति भित्रै अल्पमतमा छन् । 

Advertisement

तातेडलाई एचआर विभागको प्रमुख नबनाए अध्यक्ष दुगडलाई नै हटाउने चेतावनी अर्को समूहले दिँदै आएको छ । यसअघि पनि बैंकमा सञ्चालकहरुको दुई समूहबीच विवाद उत्पन्न हुँदा राष्ट्र बैंकले हस्तक्षेप गरेर मिलाएको थियो । सञ्चालकहरुको विवादमा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको पद पनि जोखिममा पुगेको थियो । राष्ट्र बैंकले दुई चार महिनामा दुई चार वटा सीईओ फेर्न नपाउने भन्दै हस्तक्षेप गरेर विवाद मिलाइदिएको थियो । विवाद बढ्दै गएपछि तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले नै हस्तक्षेप गरेर शर्मालाई कायम राखेका थिए । 

सञ्चालकहरुको विवादकै कारण सनराइजमा निरज श्रेष्ठले कार्यभार नै सम्हाल्न नपाई बैंक छाडेको घोषणा गरेका थिए । पछिल्लो समय सनराइज बैंकमा सञ्चालकहरुको दुई समूहबीच विवाद हुँदै आएको छ । 

Advertisement

Advertisement