राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा बढायो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा बढाएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै नयाँ सीमा निर्धारण गरेको हो । 

अब मोबाइल बैंकिङ ‘क्यूआर’ कोडमार्फत दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न  मिल्ने बैंकले जानकारी दिएको छ । यसभन्दा अघि प्रतिदिन १ लाख रुपैयाँमात्र कारोबार गर्न मिल्ने व्यवस्था थियो । त्यस्तै, मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा पनि १० लाख रुपैयाँ बढाएर प्रतिदिन २० लाख रुपैयाँ बनाइएको छ ।

Advertisement

यसअघि यस्तो कारोबारको सीमा दैनिक १० लाख रुपैयाँमात्रै थियो । यता, इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा २० लाख दैनिक कारोबार गर्न मिल्ने केन्द्रीय बैंकले जनाएको छ । यसअघि इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा दैनिक १० लाख रुपैयाँमात्रै गर्न पाइने व्यवस्था थियो । 
 
यो सीमा कुनै व्यक्तिको नाममा बैक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा पैसा पठाउदा भने लागू नहुने केन्द्रीय बैंकले जनाएको छ । साथै, सरकारी कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, विद्युत् सेवा, दूरसञ्चार सेवा, बिमा प्रिमियमलगायतमा पनि लागू हुने छैन । 
 
 

Advertisement

Advertisement