धितोपत्र बजार नियमन गर्ने उच्च अधिकारीहरूबाटै शंकास्पद कारोबार

Advertisement

काठमाडौं । नेपालको सेयर बजारमा हुने ‘इन्साइडर ट्रेडिङ’ (भित्री कारोबार)मा नियामक निकायका उच्च अधिकारी नै संलग्न हुने गरेको तथ्य भेटिएको छ । बुक बिल्डिङ विधिबाट सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्ट कम्पनीको संस्थापक सेयर खरीद गरेको पाइएको हो । 

यस कम्पनीको सेयर खरीद गर्नेमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, बोर्ड सदस्य तथा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का महाप्रवन्धक चन्द्रसिंह साउद नै संलग्न रहेको भेटिएको हो । 

Advertisement

हिमाल खबरले पहिलो पटक सार्वजनिक गरेको यस तथ्यपछि उनीहरूको सामाजिक सञ्जालमा आलोचना भइरहेको देखिन्छ । सर्वोतमलाई पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न अनुमति दिइएको थियो । यसका लागि बोर्डले संस्थागत लगानीकर्ताको सूचीसमेत तयार पारिसकेको थियो भने सर्वोतमको आईपीओमार्फत निष्कासन गर्न अनुमानित मूल्यसमेत निर्धारण भइसकेको थियो ।

उक्त कम्पनीको आईपीओ कहिले आउने ? र कतिमा आईपीओ निष्कासन गर्ने ? भन्ने अन्यौलता कै बीच नियमक निकायका उच्च अधिकारी भने सेयर खरिद गरेर राख्नतर्फ लागेको तथ्य भेटिएको हो । बोर्ड अध्यक्षले ढुंगानाले आफ्नो छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको ११ हजार ९१२ कित्ता सेयर लगत कायम भएको देखिन्छ । रेबिका ढुंगाना बोर्ड अध्यक्षकी आफ्नै विवाहिता छोरी हुन् ।

त्यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका भाई हेमराजको नाममा एक लाख १९ हजार ११७ कित्ता सेयर खरिद गरेको पाइएको छ ।  हेमराज सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धक समेत रहेको ग्लोबल आईएमई क्यापिटलको माउ कम्पनी ग्लोबल आईएमई बैंकका मुख्य लगाानीकर्ता हुन् ।

त्यस्तै, नेप्सेका महाप्रवनधक चन्द्रसिंह साउदकी श्रीमती सुशीलाकुमारी बोहराको नाममा सर्वोत्तमको १० हजार कित्ता सेयर हस्तान्तरण गरेको भनी २० पुस २०७७ मा सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पठाएका छन् । 

आर्थिक वर्ष २०७६–७७ को बोनस शेयरपछि बोहराको नाममा रहेको शेयर संख्या ११ हजार ९१२ पुगेको छ। बोहराको ठेगाना बैतडीको शिवलिङ्ग १ देखाइएको छ । यस विषयमा बुझ्न कर्पोरेट नेपालले साउथ र वरिष्ठ उपाध्यक्ष ढकाललाई फोन गरे पनि उनीहरूले उठाएनन् । तर  बोर्डका अध्यक्ष ढुंगानाले भने प्रतिक्रिया दिए । 
 
उनले छोरीको नाममा सेयर किनेको स्वीकार गर्दै यो गैरकानुनी नरहेको बताए । उनले भने, ‘छोरीले  कानुनमा भए अनुसार नै प्रमोटर सेयर किनेको हो । यसमा मेरो कुनै पनि खालको भित्री कारोबार छैन् । ढुंगानाले थपे, ‘अहिले पनि उक्त कम्पनीको सेयर जोसुकैले खरिद गर्न चाहेमा र कम्पनीले सेयर बित्रmी गर्न चाहेमा खरिद गर्न सकिन्छ । त्यसलाई गैरकानुनी भन्न मिल्दैन् ।’ 

Advertisement

Advertisement