जलविद्युत बीमामा बीमा कम्पनीहरूको आकर्षण घट्दो

Advertisement

काठमाडौं । पछिल्लो समय जलविद्युत बीमामा बीमा कम्पनीहरुको आकर्षण घट्दो देखिएको छ । विदेशी पुनर्बीमा कम्पनीले जोखिमाङ्कन गर्दा जोखिम बढेको देखेपछि कम्पनीहरु हच्किएका हुन् । 

केही समयअघि बीमा कम्पनीहरुले जलविद्युतको बीमा गर्दा प्रतिहजार एक रुपियाँका दरले बीमा शुल्क पाउँथे । तर, अहिले जलविद्युत बीमाको बीमा शुल्क प्रतिहजार ३० पैसाको हाराहारीमा कायम भएको छ । यसको मतलब बीमा शुल्कवापत कम हुँदै जाने तर जोखिम भने धेरै उठाउँनु पर्ने बाध्यता रहेको कम्पनीहरुको गुनासो छ । 

Advertisement

जलविद्युत बीमा गरेपछि कम्पनीहरुले विदेशी कम्पनीमा पुनर्बीमा गर्नुपर्छ । अहिले विदेशी पुनर्बीमा कम्पनीले नै जलविद्युत बीमा नरुचाएको अवस्था छ । नेपालमा रहेको पुनर्बीमा कम्पनीले जलविद्युतको जोखिम धारण गर्ने क्षमता निकै कम छ ।

कुनै पनि नेपाली बीमा कम्पनीले जलविद्युतको बीमा गर्नु पर्यो भने सम्बन्धित पुनर्बीमा कम्पनीसँग परामर्श लिनुपर्छ । नेपालमा एउटा मात्र संख्यामा पुनर्बीमा गर्ने कम्पनी रहेकाले बीमा कम्पनीहरुले विदेशीसँग पुनर्बीमा गराउँदै आएका छन् ।

पुनर्बीमा कम्पनीले (अन्डरराइटिङ) जोखिमांकनमा बीमा कम्पनीहरुलाई सघाउँछन् । पुनर्बीमा कम्पनीले आँकलन गरेको दरमा बीमा कम्पनीहरुले जलविद्युतको बीमा गर्नुपर्छ । तर, अहिले विदेशी पुनर्बीमा कम्पनी नै जलविद्युतको बीमा गर्ने कुरालाई कम प्राथमिकता दिँदै आएका छन् । बीमा शुल्क कम हुने तथा ठूलो जोखिम उठाउनुपर्ने भन्दै स्रोतले सोही कारण पुनर्बीमा कम्पनीहरु पछि हट्न थालेका बतायो । 

अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुमारबहादुर खत्रीका अनुसार नेपाललाई विदेशीहरुले भूकम्पको उच्च जोखिममा राखेकाले जलविद्युत बीमाको बजार केही सुस्ताएको हो ।

‘जलविद्युत बीमामा धमाधम दाबी परिरहेका छन् । यसबाट आर्जन गर्ने नाफा कम हुने तथा नेपाललाई भूकम्पको जोखिम क्षेत्रका रुपमा विदेशीहरुले राखेका कारण जलविद्युत बीमाको आकर्षण घटेको हो’, उनले भने ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुभाष कोइरालाका अनुसार बीमा कम्पनीको आन्तरिक प्रतिस्पर्धाका कारण जलविद्युत बीमाको दर बिग्रिन पुगेको छ । 

उनले भने, ‘अहिले राष्ट्रिय बीमा कम्पनीले अरुण तेस्रो जलविद्युत आयोजनाको बीमा गरेको छ, नेपालमा जलविद्युत बीमाका लागि अवसरहरु धेरै छन् । यसमा बीमा कम्पनीहरुले प्रतिस्पर्धाका हिसाबलेभन्दा पनि पुनर्बिमाले जोखिम बहन गर्न मान्ने किसीमले काम गर्दा आकर्षण बढ्न सक्थ्यो ।’

 नेको इन्स्योरेन्स कम्पनीका सीइओ अशोक खड्काका अनुसार जलविद्युत बीमामा अत्याधिक मात्रामा दाबी पर्ने तथा न्यून बीमा शुल्कमा बीमा गराउनुपर्ने अवस्था सिर्जना भएका कारण जलविद्युत बीमामा कम्पनीहरुको आकर्षण घटे्को हो । 

‘आर्थिक वर्ष २०७६–७७ को असार मसान्तमा बीमा कम्पनीहरुले जलविद्युत बीमाबाट निकै नै नोक्सानी व्यहोर्न पुगे । अहिले त्यति सहज ढंगले विदेशी कम्पनीले पनि जलविद्युतको पुनर्बीमा गर्न मानेका छैनन् । त्यसमा कडाई गरिएको अवस्था छ । आम्दानी निकै कम हुने तथा जोखिम बढी हुने भएकाले आकर्षण कम भएको हो’, खड्काले भने ।

पुनर्बीमा कम्पनीले जोखिम लिन छाड्नुको कारण जलविद्युतका जोखिम अर्बौं रुपियाँको हुने, जोखिममा पर्ने सम्भावना् पनि ज्यादा हुने बीमा क्षेत्रको तर्क छ । जलविद्युतको जोखिम नेपाल पुनर्बीमा कम्पनीले धारण गर्ने सम्भावना पनि कम भएकाले पनि उनीहरुको आकर्षण घटेको देखिन्छ । नेपालका जलविद्युत आयोजना उच्च जोखिममा रहेकाले विदेशी पुनर्बीमा कम्पनीले हात भिक्दै गएको उनीहरु बताउँछन् । 

Advertisement

Advertisement