काठमाडौं । नेपाल सर्भेयर संघका अध्यक्ष सूर्यप्रसाद जोशीले बीमा क्षेत्रमा हुने कमीकमजोरीमा सर्भेयरहरूलाई मात्रै मुछ्ने गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
कर्पोरेट नेपालसँगको कुराकानीमा उनले कुनै पनि कमजोरीमा एक पक्षको मात्रै हात नहुने बताए । जोशीले बीमा सर्भेयर एक्लैले बीमा क्षेत्रमा गलत काम गर्न नसक्ने भन्दै तर आफूहरू दोष थोपरेर अरुहरू उन्मुक्त हुनखोज्ने प्रवृत्ति रहेको बताए । बीमा दाबी भुक्तानीमा ढिलाई हुँदा सर्भेयरका कारण ढिलाई भएको भनेर बीमा कम्पनीहरू बीमितहरूलाई जवाफ दिने गरेको देखिन्छ ।
जोशीले भने, ‘जसरी एक पक्षको मात्रै मिलेमतोमा गलत क्रियाकलाप घट्ने सम्भावना न्यून हुन्छ, त्यसरी नै बीमा क्षेत्रका सर्भेयर पनि एक्लै दोषी हुन सक्दैनन्, उनीहरूलाई समस्यामा पार्न धेरै पक्षहरू सक्रिय हुन्छन् ।’
संघमा लामो समयदेखि अध्यक्ष रहेका ३५ बर्षदेखि सर्भे गर्दै आएका उनले बीमा क्षेत्रमा विगतमा देखिने गरेका धेरै बिकृतिमा अहिले कमी आएको स्वीकार गरे । तर पहिलेदेखि सर्भेयरमाथि लाग्दै आएको आरोप भने यथावत रहेको जोशीको गुनासो छ । जोशी भन्छन्, ‘यसको मतलव बीमा सर्भेयरहरूमा समस्या नै नरहेको भन्ने मेरो भनाई होइन् ।’
यसरी हुनसक्छ समस्याका समाधान
बीमा क्षेत्रको नियामक बीमा समितिले बीमा सर्भेयरको विषयमा सकारात्मक हुनुपर्ने अध्यक्ष जोशीको भनाई छ । समिति तथा कम्पनीहरूले सर्भेयरको पछाडि मात्रै नभई उनीहरू अगाडि भएकै बैलामा समेत विभिन्न किमिसका आरोप लगाउने गरेको उनले गुनासो गरे ।
जोशीले भने, ‘बीमा क्षेत्रमा सबैभन्दा सजिलो त सर्भेयरलाई दोष थोपरिदिए हुन्छ । तर सर्भेयरको दोषमा बीमा कम्पनी, समिति तथा बीमित सबै जोडिन पुग्छन् ।’
हाल नेपालमा सक्रिय बीमा सर्भेयरको संख्या १५० रहेको छ । सर्भेयर बन्न चाहने तथा यस पेशामा आवद्ध हुन चाहनेहरूको संख्या पनि निकै धेरै छ । तर आवद्ध हुने सर्भेयर यस पेशामा लामो समय टिक्न सक्दैनन् ।
‘सर्भेयरहरू यस पेशामा टिक्न नसक्नुको कारण भनेको सर्भेयर पेशाको उचित मूल्यांकन हुननसक्नु हो’, उनले भने । एक दुई जना सर्भेयरले बजारमा कहिलेकाहीं कमजोरी गरेका तथ्य समेत भेटिने गरेको स्वीकार गर्दै जोशीले संघले यस्ता कुरा सुधार गर्न पहल गर्दै आएको बताए ।
भौलोगिक विकटता भएको ठाउँमा सर्भेयर पुग्न समय लाग्ने, उचित तालिमको अभावले सर्भेयरले राम्रोसँग रिपोर्ट तयार गर्न नसक्ने, सर्भेयरहरूको संख्या बढाउन पहल नहुने, भएका सर्भेयरहरूलाई उचित सेवा सुविधा दिन पनि ध्यान नदिइनु जस्ता कुराहरूले गर्दा त्यसको मार बीमितहरूमाथि पर्ने गरेको छ ।
नियामक निकायले अब सर्भेयरलाई दोष मात्र लगाउनुभन्दा पनि दक्ष सर्भेयर उत्पादन गर्ने वातावरणमा ध्यान दिनुपर्ने जोशीको सुझाव छ । बीमा सर्भेयर बन्न कुनै पनि व्यक्तिले प्राविधिक शिक्षा अनिवार्य रुपमा हाँसिल गरेको हुनुपर्छ । त्यसमा कुनै एक विषयको इन्जिनियरिङ वा चार्टड एकाउन्टेन्ट (सीए) गरेको हुनुपर्छ । त्यस्तै, बीमा क्षेत्रको दाबी विभागमा अधिकृतसरह एक दशक काम गरेको हुनुपर्छ ।
क्षेत्र नतोकिँदा समस्या
अहिले नेपालमा सर्भेयरको संख्या निकै कम छ । सोही कारण दक्ष सर्भेयर पाउन पनि मुस्किल छ । हाल एउटा विषयमा इन्जिनियरिङ गरेको सर्भेयरले अर्को क्षेत्रमा समेत सर्भे गर्नुपर्ने बाध्यता छ ।
जोशीले आगामी दिनमा सबै मिलेर यस्ता समस्याको समाधान गर्नुपर्ने बताए । एकातिर बीमा समितिले सर्भेयरलाई दोष दिने अर्कोतिर सर्भेयरहरूको गुनासो सुन्ने कोही छैन भन्दै उनले समितिले गुनासो सुन्ने र छलफल गर्ने गरेमा सर्भेयरबाट हुने छलछामका समस्या समाधान हुने देखिन्छ । बीमा समितिले निर्णय गर्दा सर्भेयरमैत्री बन्न समेत जरुरी रहेको जोशीको तर्क छ ।
बीमा समितिको नजरमा बीमा सर्भेयर
बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलका अनुसार सर्भेयरमा मुख्य समस्या भनेको आफ्नो अनुशासनमा नबस्नु हो । उनले भने, ‘सर्भेयरलाई बीमा समितिले पनि मिल्नेसम्म सहयोग गर्दै आएको छ । नयाँ बीमा ऐनमा समेत सर्भेयरका कुराहरू समावेश गरिएका छन् । तर उहाँहरूको अनुशासनमा समस्या देखिन्छ ।’
सर्भेयरहरूले क्षेत्रगतरुपमा काम गर्नुपर्ने भन्दै उनले त्यसबाट उनीहरूलाई समेत सहज हुने बताए । सर्भेयरको समस्यामा समिति सहयोग गर्न तयार रहेको पौडेलले बताए । उनले सर्भेयरको काम रिपोर्ट निकाल्ने भएकाले उक्त काम सही ढंगबाट गर्नुपर्ने र त्यसमा बीमा समिति सहजीकरण गर्न तयार रहेको बताए ।