म स्वदेशी वस्तु नै प्रयोग गर्छु, त्यसमा मलाई गर्व लाग्छः व्यवसायी सिम्हा

Advertisement

पछिल्लो समयमा विभिन्न व्यापार व्यवसायमा महिलाहरु पनि लाग्ने क्रम बढेको छ । विशेषगरी लघु, घरेलु तथा साना उद्योगमा महिलाको संलग्नता बढी देखिन्छ । यद्यपि महिलालाई व्यापार व्यवसाय गर्न अझै पनि चुनौतिहरु कायम छन् । कस्तो छ त महिला उद्यमीहरुको अवस्था ? नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी समितिकी सभापति रीता सिम्हासँग कर्पोरेट नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानीको सार 

तपाईं एउटा महिला उद्यमी, देशभर महिला उद्यमीहरुको अवस्था के छ?
अहिले महिला उद्यमीहरु धेरै बढेका छन् । तर उहाँहरुलाई प्याकेजिङ, बजारीकरण, कर्जा पाउन समस्या छ । महिला उद्यमी महासंघ र महिला उद्यमी समितिले उनीहरुलाई तालिममार्फत कसरी उद्यमशीलता विकास गर्ने ? आर्थिक सशक्तिकरण गर्ने ? भनेर हामीले धेरै कामहरु पनि गर्दै आएका छौं । कोभिड–१९ महामारी सुरु भएपछि धेरै महिला उद्यमीहरुको व्यापार ठप्प जस्तै भएका कारण उहाँहरुलाई सहुलियत कर्जा, पुनरकर्जा कसरी दिने ? भनेर काम गरेकाले अहिले महिला उद्यमीहरुलाई धेरै राम्रो भएजस्तो लागेको छ । 

Advertisement

कोभिड–१९ पछि धेरै उद्योगधन्दा समस्यामा परेका छन् । उनीहरुलाई कसरी पुनस्थापन गर्न सकिएला ?
कोरोना महामारीले एउटा अवसर आएको भनेको अनलाइन हो । हामीले महिलाहरुलाई अनलाइनमा ल्याएर उनीहरुलाई तालिम दिने, डिजिटल साक्षरता तालिम, वित्तीय साक्षरता तालिम दिने काम गरेका छौं । जस्तो महिलाहरुलाई सहुलियत कर्जा दिने भनेको छ । तर सबै महिलाले पाएका छैनन् । किन भन्दा उनीहरुले एउटा सरल व्यापार योजना पनि लिएर जानु हुन्न । उनीहरुले बैंकमा जाँदा मलाई ऋण चाहियो भन्दा बैंकले दिँदैन् । त्यस कारणले कोरोना महामारीले ठप्प भएको व्यापार व्यवसाय उठाउन तालिम दिने, अनलाइन मार्केटिङ गर्न सिकाउने, उहाँहरुको क्षमता विकास गर्नेका काम हामीले गर्दै आएका छौं । अहिले हामीले सरकारहरुसँग वकात गरी महिला उद्यमीहरुको समस्या समाधान गर्न आग्रह गरेका छौं । उनीहरुलाई सहुलियत कर्जा, पुनरकर्जा चाहिन्छ भनिरहेका छौं । कोरोनाका कारण ठप्प भएको महिलाहरुको व्यासाय सुचारु गर्न हामी प्रयास पनि गरिरहेका नै छौं । अहिले धेरैले सहुलियत कर्जा पनि पाइरहेका छन् । अब राम्रो हुन्छ भने लाग्छ ।

महिलाहरु धेरै साना तथा मझोला उद्योगमा आवद्ध छन् । यसमा उद्योग वाणिज्य महासंघ जस्ता निजी क्षेत्रका संस्थाले के भूमिका खेलेका छन् ?
हाम्रो उद्देश्य भनेको महिलाहरुलाई आर्थिक सामाजिक सशक्तिकरण गर्ने हो । त्यसको लागि उद्यमीहरुलाई धेरै जस्तो तालिममार्फत उनीहरुको क्षमता निर्माण गर्नु हो । जस्तै, महिलाहरु आफ्नो घरको काममा यति व्यस्त हुनु हुन्छ कि उहाँहरुले अलिकति समय पाए उद्यमी हुनुहुन्छ । अनौपचारिकरुपमा काम गर्दै आएका महिलाहरुलाई कसरी औपचारिकमा ल्याउने भनेर हामीले विभिन्न संस्थाको सहयोगमा काम पनि गर्यौं । त्यस्तै, एक जना महिलाले टिमुरको व्यापार गर्नु भएको थियो । तर उहाँको लागत मूल्य मिलेको थिएन् । त्यसमा हामीले उहाँलाई तालिम दियौं । अहिले उहाँ एक्दमै सफल महिला उद्यमी हुनु हुन्छ । उहाँको उत्पादनहरु राम्रो बिक्री हुन्छ ।  

हुन त सरकारले पनि एसएमई (घरेलु तथा साना उद्योग)को राहत तथा पुनःस्थापनाका लागि विभिन्न प्याकेज घोषणा गरेको थियो । त्यसबाट महिला उद्योगले कति लाभ लिन सफिल भए ? 
धेरै महिला लाभान्वित हुनुभएको छ । असी हजार महिलाहरुले सहुलियत कर्जा पाएका छन् । यो त एकदम राम्रो कुरा हो । तर त्यसमा पनि शंका के छ भन्दा ८० हजार महिलाले सहुलियत कर्जा लिएको भन्दा महिलाको नाममा पुरुषले पो लिएको हो कि ? त्यो पनि हामीले हेर्नुपर्ने हुन्छ । यसमा महिलाहरुले नै लिएको भए एकदम राम्रो भयो । तर फेरि महिलाहरुको नाममा पुरुषले लिएछ हो भने त त्यो फेरि राम्रो होइन् । सरकारले जुन नीति नियमहरु ल्याउँछ, एउटै बास्केटमा ल्याउँछ । जस्तो साना मझौलालाई हुने नियम ठूलालाई हुँदैन् । महिलाहरुलाई साना मझौलाबाट कसरी अपगे्रड गर्ने ? भने कुरा छ । महिलाको नाममा १५ लाख रुपियाँ सहुलियत कर्जा हुन्छ । ठूलो व्यापारको लागि १५ लाखले पुग्दैन् । नीति नियम ल्याउँदा क्षेत्र अनुसार ल्याउनुपर्यो ।

पछिल्लो समयमा बैंकंको ब्यादर बढ्ेको छ । बजारमा तरलताको समस्या छ । यसबाट उद्योग व्यवसाय कतिको समस्यामा परेका छन् ?
उद्यमीहरु एकदमै समस्यामा परेका छन् । भर्खर मात्रै खुट्टा टेक्न लागेका उद्योग व्यवसायलाई फेरि ब्याजदर बढाउँदा झन समस्यामा परेका छन् । अब कसरी फेरि चल्ने ? भन्ने समस्या भएको छ । यस विषयमा उद्योग बाणिज्य महासंघदेखि महिला व्यवसायीले सरकारको पनि ध्यानाकर्षण गराएका छौं । 

नेपालमा आयात उच्च रुपमा बढ्ने तर आन्तरिक उत्पादन बढ्न नसक्ने समस्या देखिएको छ ? यसको सावधान कसरी गर्न सकिएला?
सरकारले नीति नियममा परिवर्तन ल्याउनु पर्यो । देश नैै आयातमुखी छ । हामी सबैले स्वदेशमा पाइने वस्तुहरु प्रयोगमा ल्याउनुपर्यो । हाम्रो धेरै जस्तो वस्तुहरु बाहिरबाट आयात गरिन्छ । त्यो रोक्नु पर्यो । आफ्नै देशमा पाइने वस्तुलाई प्रोत्साहन गर्नु पर्यो । कोरोना महामारीमा पनि महिलाहरु घरमै बसेर काम गर्न सक्नुहुन्थ्यो । कच्चा पदार्थ आफ्नै देशमा पाउँछ भने उहाँहरुले आफैले लिएर बनाउन सक्नुहुज्थ्यो । तर हामी सबै अरुको देशमा निर्भर छौं । सरकारले नीति नियम ल्याउनु पर्यो आफ्नै देशमा कच्चा पदार्थ उत्पादन गर्न सहुलियत कर्जा दिनुपर्यो । 

जलवायु परिवतनले नेपाल जस्ता मुलुकका साना ठूला उद्यमी, विशेषगरी स्वरोजगार महिलाहरुलाई असर गरेका कुराहरु सुनिन्छ । तपाईंले कसरी हेर्नु भएको छ ?
दक्षिण एशियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले एउटा अवधारणा ल्याउनुभयो, ‘अब चाहीं हामीले हरित महिला औद्योगिक पार्क निर्माण गर्नुपर्छ ।’ हामीले एउटा अवधारणा लिएर काभ्रेमा गयौं । काभ्रेको मेयरले जग्गा पनि दिनुभयो । सो पार्कको लागि त्यहाँको ६० प्रतिशत कामहरु भइसकेको छ । अहिले एउटा हरित महिला औद्योगिक पार्क छ जुन काभ्रेमा बन्दै छ । त्यहाँ स्टार्टअपदेखि लिएर भर्खर व्यवसाय सुरु गर्न लागेका महिलाहरुलाई पनि तालिम दिइन्छ । र त्यहाँ उनीहरुको व्यवसाय एकदमै सफल भइसकेको छ । महिला उद्यमीहरुले आफ्नै पूर्वाधारहरु बनाएर बस्न सक्छन् । त्यो क्षेत्रमा के पाइन्छ ? त्यसको प्रशोधन गर्ने र त्यसका लागि तालिमहरु दिने लक्ष्य लिएका छौं ।

हालै तपाईंहरुले प्रधानमन्त्रीलाई पनि भेट्नुभयो । के कुरा भयो ? 
प्रधानमन्त्रीसँगको भेट सकारात्मक भयो । उहाँले पनि यस्तो हुनुपर्छ, उद्योग सचिवलाई भेटिहाल्नु, अर्थमन्त्रीलाई पनि भेटिहाल्नु भन्नुभयो । उहाँले पनि एकदम प्रोत्साहन गर्नुभएको छ । यसमा हामी धेरै खुसी छौं ।
महिला उद्यमी समितिले चाहीं के के गतिविधी गर्दैछ ?
हामीले के गयौं भने कोरोनाका कारण महिला उद्यमीहरुलाई अनलाइनमा ल्यायौं । अनलाइनबाट तपाईंहरुको समस्या के छ ? भनेर उनीहरुको समस्या समाधान गर्ने योजना बनाइरहेका छौं । विभिन्न ठाउँमा सेमिनार गर्ने र उहाँहरुका मुद्दाहरु के छ ? त्यसको निचोड लिएर सरकारसम्म, सरोकारवालाहरुसम्म ल्याएर के कस्तो नीति नियम बनाउँदा ठिक हुन्छ ? भनेर काम गरिरहेका छौं । 

तपाईंको कम्पनीको बारेमा पनि थोरै भन्दिनु न ।
म ढाका टेक्सटाइलसम्बन्धी काम गर्छु । जस्तै पश्मिना, रेशमको । मेरो एउटा चाहना हो नेपालमै उत्पादन गरौं । त्यसलाई सदुपयोग गरौं । यो कार्य हामीबाटै सुरु हुनु पर्छ । मैले एउटा चियाको कप किन्नुपर्यो भने म साना हस्तकलाको पसलमा गएर किन्छु । परिवर्तन आफूबाट सुरु हुनुपर्छ भन्ने लाग्छ । मलाई चाहीं त्यसमा गर्व लाग्छ । एउटा ब्याग पनि स्थानीयस्तरमा बनेको किनौं । अहिले यति हस्तकलाका सामान बन्दै छ नेपालमा, यो हाम्रो पनि जिम्मेवारी हो । स्थानीय उत्पादनलाई कसरी प्रोत्साहन गर्ने ? त्यो भनेर म आफै्बाट सुरु भएर स्थानीय उत्पादन नै प्रयोग गर्छु । 

Advertisement

Advertisement